थलिएको व्यवसाय ब्यूँताउन दरवारमार्ग महोत्सवको तयारी पुरा


काठमाडौं । नेपाली नयाँ वर्षको अवसरमा काठमाडौंको दरबारमार्गमा हुन लागेको १५ औं दरबारमार्ग महोत्सवको तयारी पुरा भएको छ । नेपाली नयाँ वर्ष २०७९ अवसरमा वैशाख ३ गते शनिवार दरवारमार्गमा महोत्सव हुन लागेको हो ।

कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारा सहित महोत्सव आयोजना गर्न लागेको जनाइएको छ ।

महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसंग महासंघको सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मुल उद्देश्य रहेको छ ।

सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतीका साथ महोत्सव शनिवार विहान ११ः४५ बजेबाट हुने जनाइएको छ ।