त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा निकाय प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको सिमलतालस्थित सडकबाट त्रिशूली नदीमा गाडी खसेर बेपत्ता भएका यात्रुहरूको खोजीलाई तीव्रता दिन तीनवटै सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले निजी निवास खुमलटारमा बोलाएर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई हराइरहेका यात्रुहरूको खोजीलाई तीव्रता दिन निर्देशन दिएको दाहालको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका थिए। उनले सबै उपायहरूको अबलम्बन गरेर हराइरहेकाहरूको खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्रीले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका थिए।

उक्त अवसरमा उनले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेका थिए।