अघि बढ्ला बुक विल्डिङ? 


सरकारको ढिलासुस्तीका कारण ६ महिनापछि मात्रै नेप्सेको प्रमुखमा कृष्णबहादुर कार्की र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । उनीहरूले अब कत्तिको चासोका साथ बुक बिल्डिङ प्रणालीलाई अगाडि बढाउँछन् भन्ने लगानीकर्ताले प्रतीक्षा गरेका छन्।

वर्षौंदेखि मुनाफामा गएका राज्यलाई सबैभन्दा बढी कर तिर्ने १२ सय भन्दा बढी सबल र सक्षम कम्पनी छन् तर बजारमा भने एकदमै कम सूूचीकृत छन्। त्यसैले अबको आवश्यकता भनेको त्यस्ता कम्पनीलाई छिटोभन्दा छिटो पुँजी बजारमा ल्याउनु हो ।

नेपाल धितोपत्र बोर्डले वास्तविक क्षेत्र (रियल सेक्टर)का कम्पनीलाई लक्षित गरी ल्याएको नयाँ विधि– ‘बुक बिल्डिङ’ प्रणालीको कार्यान्वयनका लागि लगानीकर्ताहरूले धितोपत्र बोर्डलाई घच्घच्याउन थालेका छन् । बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएसँगै बुक बिल्डिङको कार्यान्वयन अघि बढ्ने उनीहरूले आशा गरेका हुन । 

बोर्डले २०७३ सालमा बुक बिल्डिङ निर्देशिका जारी गरेपछि पाँच वर्षसम्म रियल सेक्टरका एउटा पनि कम्पनीको आईपीओ आउन सकेको छैन । समग्र पुँजी बजारको विकासका लागि अति आवश्यक मानिएको यो प्रणाली लागू गरे पनि आईपीओ निष्कासन गर्न अघि सरेका कम्पनीहरू नै एकपछि अर्को विवादित बन्दै गए । 

बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको र सर्वत्र चर्चामा रहेको सर्वोत्तम सिमेन्टको भित्री कारोबारमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिं साउद संलग्न रहेको रहस्य बाहिर आएसँगै बुक बिल्डिङ प्रणाली नै बदनाम हुन पुग्यो । 

नियामक निकायको नेतृत्व गरेका बसेका व्यक्ति नै पदीय मर्यादाविपरीत भित्री कारोबारमा संलग्न भएपछि सर्वसाधारणमा जुन उत्साह थियो, त्यो विस्तारै सेलाउँदै गयो भने नियामक निकायप्रति सर्वसाधारणको विश्वास संकटमा प¥यो । 

उक्त प्रकरण पछि धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष ढुंगानालाई सरकारले बर्खास्त ग¥यो भने नेप्सेका प्रमुखले राजीनामा दिए । 

सरकारको ढिलासुस्तीका कारण ६ महिनापछि मात्रै नेप्सेको प्रमुखमा कृष्णबहादुर कार्की र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । उनीहरूले अब कत्तिको चासोका साथ बुक बिल्डिङ प्रणालीलाई अगाडि बढाउँछन् भन्ने लगानीकर्ताले प्रतीक्षा गरेका छन् ।

पछिल्लो समय बुक बिल्डिङमार्फत् नै आईपीओ जारी गर्ने भनेर साधारणसभाबाट समेत पारित गरिसकेको अर्घाखाँची सिमेन्ट चर्चामा आउन नपाउँदै अधिक चुनढुंगा उत्खनन्को मुद्दा–मामिलामा परेको छ । यसर्थ पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीहरूको आईपीओ झट्टै नआउने हो कि भन्ने चिसो सर्वसाधारण लगानीकर्तामा परेको छ । 

बुक बिल्डिङ प्रणाली छिट्टै लागू हुन नसक्नु नियमनकारी निकायको ढिलासुस्ती हो कि कम्पनीहरूले चासो नदेखाएको हो ? जे भए पनि समग्र पुँजी बजार रियल सेक्टरका कम्पनीको आगमनको व्यग्र प्रतीक्षामा छ । 

सर्वोत्तम सिमेन्टको विवाद साम्य पनि महिनांै भइसकेको अवस्थामा कम्पनीलाई आईपीओमा जान नियामक निकायहरूले नै तदारुकता नदेखाएको बजार विश्लेषकहरू बताउँछन् । 

बुक बिल्डिङ प्रक्रियामा जानका लागि नियमन गर्ने निकाय नेतृत्वविहीन हुँदा हामीलाई आईपीओका लागि प्रक्रिया बढाउन समस्या भएको सर्वोत्तम सिमेन्टले बताउँदै आएको थियो भने यता नेप्से र धितोपत्र बोर्डले भने कम्पनीले अहिलेसम्म आईपीओ जारी गर्न भनेर नेप्से र धितोपत्र बोर्डमा औपचारिक रूपमा नआएको बताउँदै आएका छन् । 

तत्काल बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न जुनसुकै कम्पनी आए पनि प्लेटफर्म दिन तयार रहेको नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरि पराजुली बताउँछन् । 

एकादुई कम्पनीले मात्रै बुक बिल्डिङ प्रणालीमार्फत आईपीओ निष्कासन गर्न साधारणसभाबाट निर्णय पारित गरेका थिए । सर्वोत्तम सिमेन्ट र अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्न प्रक्रिया चाले पनि नियामकले गति दिएको छैन । 

त्यस्तै उद्योगी पवनकुमार गोल्यानको रिलायन्स स्निपिङ जुट मिलले पनि बुक बिल्डङ प्रक्रियामार्फत आईपीओ जारी गर्न इच्छा देखाएको थियो । कम्पनीले धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आईएमआई क्यापिटललाई नियुक्त गरेको छ । त्यस्तै हामा स्टीलले पनि बुक बिल्डङ प्रक्रियामार्फत आईपीओ निष्कासन गर्न गृहकार्य सुरु गरेको छ । 

तर, यो कुरा अनौपचारिक रूपमा धितोपत्र बोर्डसम्म पुगे पनि कम्पनीले औपचारिक रूपमा केही कुरा नआएको बोर्डले जनाएको छ । 

कुनै पनि कम्पनी बुक बिल्डिङमार्फत आईपीओ जारी गर्दा विवाद वा मुुद्दा मामिलामा परेको भए विवरणमा स्पष्ट रूपमा खुलाउनु पर्ने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरि बताउँछन् । 

अहिले नियमावलीमा कहीं मुद्दा परेमा भएमा केही भएमा पब्लिकमा जानै नपाउने भनेर त्यसरी स्पष्ट लेखेको छैन । कार्यकारी निर्देशक गिरिले भने, “कम्पनीलाई लागेको मुद्दा–मामिला तथा विवाद कस्तो प्रकृतिको हो भन्ने विवरण पत्रमा खुलाउन पर्ने हुन्छ, भोलि गएर उसलाई कारबाही हुन पनि सक्छ, नहुन पनि सक्छ त्यसैले सबै विवरण डिस्क्लोज गरेर आएमा आईपीओ निष्कासन गर्न पाउँछन् ।” 

धितोपत्र दर्ता वा नियमावलीको विवरणपत्रमा ढाँचामा पनि मुद्दा–मामिला भएमा धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ अनुसूची ५, नियम ११ को उपनियम १ सँग सम्बन्धित विवरणको ढाँचाको १७ नम्बर बुँदामा मुद्दा मामिला तथा विवाद भएमा स्पष्ट रूपमा विवरणपत्रमा खुलाउनुपर्ने उल्लेख गरिएको छ । 

विवरणपत्र भनेको सर्वसाधारणलाई जारी गर्न लागिएको नयाँ धितोपत्रको बारेमा विस्तृत जानकारी दिने औपचारिक दस्तावेज हो, विवरणपत्र धितोपत्र जारी गर्नुआघि नियामक निकायसमक्ष पेस गर्नुपर्छ । विवरणपत्रका आधारमा लगानीकर्ताले सम्बन्धित कम्पनीमा लगानी गर्ने वा नगर्ने भन्ने सुुसूचित निर्णय गर्न सक्छन् । 

पाइपलाइनमा रियल सेक्टरका कम्पनी

बजार चलाउने नेपाल स्टक एक्सचेन्ज र नियामकीय निकाय नेपाल धितोपत्र बोर्डको नेतृत्व लामो समय रिक्त रहेका कारण बुक बिल्डिङ प्रक्रिया अगाडि नबढेको ग्लोबल आइएमआई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि अधिकारी बताउँछन् । 

“धेरै कम्पनीले बुक बिल्डिङमार्फत् आईपीओ निष्कासन गर्न चासो देखाएका छन्,” उनले भने, “सर्वोत्तम सिमेन्टको कुरामा चाहिँ नेप्से तथा धितोपत्र बोर्डमा सीईओ नभएका कारण प्रक्रिया अगाडि नबढेको हो, अबको केही दिनमै पक्कै राम्रो समाचार सुन्न पाइन्छ ।” 

अब बुक बिल्डिङमा केही पनि कुरा बाधक नरहेको भन्दै उनले एक–दुई दिनमा रिलायन्स स्निपिङ जुट मिलले पनि नेप्सेलाई चिठी काट्ने तयारीमा रहेकोे जानकारी दिए । 

“ठ्याक्कै यति कम्पनी पाइपलाइनमा छन् नभनांै किनकि सम्झौता भइसेको छैन, अहिले सर्वोत्तम सिमेन्ट, अर्घाखाँची सिमेन्ट अनि रिलायन्स स्निपिङ जुट मिलले प्रक्रिया अगाडि बढाएका छन् । रियल सेक्टरका कम्पनी आईपीओ जारी गर्न लामबद्ध छन्,” अधिकारीले भने । 

सहजीकरण गर्न बोर्ड तयार 

अन्तर्राष्ट्रिय बजारमा अभ्यासमा आइसकेको र अति प्रभावकारी मानिएको बुक बिल्डिङ प्रणाली अब अगाडि बढ्ने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल बताउँछन् । 

अध्यक्ष हमाल भन्छन्, “विगतमा के भयो फर्केर नहेरौं, अब कसरी वास्तविक क्षेत्रका कम्पनीलाई कसरी बजारमा ल्याउन सकिन्छ भन्ने कुरा पहिलो प्राथमिकतामा रहनेछ ।” 

बुक बिल्डिङ प्रणालीका लागि तयार पारिएको निर्देशिका अन्तर्राष्ट्रियस्तरको रहेको दाबी गर्दै अध्यक्ष हमालले भने, “वर्षौंदेखि मुनाफामा गएका राज्यलाई सबैभन्दा बढी कर तिर्ने १२ सयभन्दा बढी सबल र सक्षम कम्पनी छन् तर बजारमा भने एकदमै कम सूूचीकृत छन् । त्यसैले अबको आवश्यकता भनेको त्यस्ता कम्पनीलाई छिटोभन्दा छिटो पुँजी बजारमा ल्याउनु हो ।”

‘रियल सेक्टरका कम्पनीहरूलाई बुक बिल्डिङ प्रणालीमार्फत् आउन नचाहेको किन हो’ भन्ने प्रश्न गर्दै हमालले थपे, “जो रियल सेक्टरका कम्पनी छन्, बजारमा सूूचीकृत भएका छैनन् । उनीहरूलाई हामी निम्त्याउन चाहन्छौं, हामी आह्वान गछौं, तपार्इंहरू आउनुहोस् हामीले के सहजीकरण गर्नपर्छ, हाम्रो भूमिकामा यहाँले के खोजिरहनुभएको छ, धितोपत्र बोर्डले उचित सहजीकरण गर्नेछ ।”

विधिमार्फत् आईपीओ ल्याउन अन्डरराइटिङ फेयर हुनुपर्ने, मापदण्ड क्लियर गर्नुपर्ने आवश्यक रहेको भन्दै प्रिमियम रकम ठीक हो कि होइन हेर्ने हमालले बताए ।

एकदम निष्पक्ष तथा पारदर्शी रूपमा सबैलाई एउटै मात्रामा राखेर त्यहीअनुसारको कम्पनीलाई सूचीकृत गर्ने वातावारण तयार पारिने अध्यक्ष हमालले बताए ।

(टक्सार म्यागजिन, चैत २०७८ मा प्रकाशित)