नेपालमा उत्पादन नभएका कारण अर्थतन्त्र समस्यामाः अर्थसचिव मरासिनी


काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले नेपालमा उत्पादन नभएका कारण अर्थतन्त्र समस्यामा परेको बताएका छन् ।

नेपाल व्यवस्थापन संघ (म्यान)ले गरेको आगामी आर्थिक वर्षको बजेटमाथीको छलफल कार्यक्रममा अर्थ सचिव मरासिनीले नेपालमा उत्पादन नभएको र रुस र युक्रेनका युद्धका कारण नेपालको अर्थतन्त्र समस्यामा परेको बताएका हुन् ।

यसले गर्दा खाद्यान्नको मुल्यवृद्धि, ढुवानीमा बढि भाडा लागेकोले मूल्यवृद्धि भएको उनकाे भनाई थियो । उनले विदेशी मुद्राको सञ्चिती कोभिड अगाडीको जस्तो अवस्थामा रहेको बताए । उनले भने, “हामी आत्तिनुपर्ने अवस्था छैन कोभिड भन्दा अगाडी विदेशी मुद्रा सञ्चितीको अवस्था जस्तो थियो अहिले पनि त्यस्तै डराइहाल्नु पर्दैन ।”

रेमिट्यान्स पनि केहि बढेको र बैंकहरुले लक्जरी आइटममा एलसी नखोलेर सहयोग गरिराखेको अर्थसचिव मरासिनीले बताए । प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो पद सम्हाल्ने वित्तिकै कोभिडको खोपलाई महत्व दिएको र खोपको कारण कोभिड मुक्त भइसकेकाले अर्थतन्त्रमा त्यसले सहयोग गर्ने उनले बताए ।

अर्थ सचिव मरासिनीले बैंकबाट कर्जा गइराखेको तर उत्पादन नबढेकोले त्यो कर्जा कहाँ गइराखेको छ त्यो हेर्नुपर्ने बताए । उनले भने,“बैंकबाट कर्जा गइराखेको छ त्यो कहाँ गइराखेको छ । त्यसलाई अर्थशास्त्रीहरुले हेर्नुपर्छ । एउटा बैंकबाट अर्को बैंकमा कर्जा गइराखेको जस्तो लागिराखेको छ ।”

निर्माण व्यवसायीले गरेको निर्माण होलिडेलाई इगिंत गर्दै व्यवसाय जागिर खाएको जस्तो नभएको बताए । उनले संस्था कार्टेलिङ गर्न संस्था खोलेको हो ? भन्दै प्रश्न गरे । “व्यवसायमा सँधै फाइदा हुँदैन । हामी सानो केहि हुने बित्तिकै हड्ताल गर्छौ । त्यसले समस्या निम्त्याउँछ,” उनले भने ।