लगातार २ दिनभन्दा बढी बिदा परेमा तेस्रो दिनदेखि बैंक खोल्नु पर्ने


काठमाडौं । आगामी जेठ १ गतेदेखि लगातार ३ दिन सार्वजनिक बिदा परेमा तेस्रो दिन बैंक खोल्नुपर्ने गृह मन्त्रालयले जनाएको छ।

आइतबार राजपत्रमा प्रकाशित सूचनाअनुसार सातामा २ दिन शनिबार र आइतबार सार्वजनिक विदा हुने भएपछि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय र स्थानीय तहले गृहमन्त्रालयले तोकेको समयानुसार तेस्रो दिन काम गर्नु पर्ने बताइएको छ।

तोकिएको समयअनुसार तेस्रो दिन काम गर्ने कर्मचारीले त्यसको सट्टामा अर्को दिन बिदा लिन पाउने गृहमन्त्रालयले जनाएको छ।

राहदानी, आन्तरिक राजस्व कार्यालय, भूमि सुधार, मालपोत र नापी कार्यालय, भन्सार कार्यालयसहितका २५ सेवा प्रदायकहरूले तेस्रो दिनदेखि कार्यालय खोलेर सेवा दिनुपर्ने गृह मन्त्रालयले बताएको छ।

गृह मन्त्रालयका अनुसार दशैं र तिहारका सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ्ग सेवा, आन्तरिक राजश्व, भूमिसुधार तथा मालपोत कार्यालय मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहले तेस्रो दिनदेखि सेवा दिनु पर्नेछ ।

राजपत्रमा प्रकासित सूचनाअनुसार प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिँदा सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९.३० बजे देखि अपरान्ह ५.३० बजेसम्म निर्धारण गरिएको छ । तर कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९.३० बजे देखि अपरान्ह ४।३० बजेसम्म रहने मन्त्रालयले जनाएको छ ।