नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएः प्रधानमन्त्री


काठमाडाैँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन् । सोमवार काठमाडौँको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यतार शिष्टता बिर्सिएको देख्दा अचम्मित भएको बताए । उनले नयाँ पुस्ताको अकर्मण्यता नेपालीपन नभएको बताए। उनले नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिन युवाहरूलाई आग्रह गरे । उनले नेपाली समाज संस्कृतिले भरिपूर्ण समाज भएको भन्दै नेपाली समाज जति बिथोल्न खोजेपनि र जति भाँड्न खोजेपनि नभाँडिने जिकिर गरे ।

“नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ । यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन् । अरुका कार्यक्रम बिथोल्ने गरेका छन् । म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन,नेपाली संस्कृति होइन । नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिऔँ । हाम्रो देश मेलमिलापको देश हो । शान्तिपूर्ण ढंगले चल्ने देश हो । नेपाली समाज जति बिथोल्न खोजेपनि, जति भाँड्न खोजेपनि बिथोलिन र भाँडिन मान्दैन,”उनले भने ।