काठमाडौँ । आज ऋषिपञ्चमी पर्व नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीको किनारमा पुगेर ३६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।
नारीलाई रजस्वलाका दिनहरुलाई चार वटा देवीहरुको अनुरुप तुलना गर्ने चलन छ । नारीलाई रजश्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन व्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।
महिलामा रजस्वलाका समयमा भएको कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति मिल्ने धार्मिकग्रन्थमा उल्लेख गरिएको छ ।
आज सप्त ऋषिको पूजा आराधना गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल, कर्कला आदि खानु पर्ने प्रचलन रहि आएको छ । आज काठमाडौँको पशुपतिनाथ, टेकु, गुह्वेश्वरी, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्