नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी: अर्थतन्त्र चलायमान हुने व्यवसायी र उपभोक्ताको विश्वास


काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनीको आज अन्तिम दिन रहेको छ ।

प्रदर्शनी भदौ २१ गतेदेखि २३ गते (आज) सम्म काठमाडौँको भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना भएको हो ।

एकै छानामुनि अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङहरुबारे जानकारी पाउन मेला महत्वपूर्ण भएको अवलोकनकर्ताहरूले बताएका छन् ।

होलसेलर र ठूला कम्पनीहरूका लागि मेला अझ बढी उपयुक्त हुने आयाेजकले जनाएकाे छ । यस्ता मेलाले देशको अर्थतन्त्रलाई चलायमान बनाउने र प्रविधिको जानकारी मिल्ने उनीहरू बताउँछन् ।

मेलामा १५० भन्दा बढी कम्पनीहरूका सामानहरूकाे बारेमा जानकारी लिनु पनि उपभोक्ताहरूका लागि राम्रो हुने आयाेजकले जनाएकाे छ ।

मेलामा अवलोकनकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको व्यवसायीहरू बताउँछन् ।प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्रीहरुको स्टल रहेका छन् ।

प्रदर्शनीमा वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीको स्टल रहेकाे आयोजकले जनाएको छ ।