काठमाडाैँ । मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् । आइतबार नेपाल चेम्बर अफ कमर्सका पदाधाकारीहरुको टोलीले नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसँगको भेटका क्रममा यस्तो ध्यानाकर्षण गराएका हुन् ।
चेम्बर अफ कमर्सले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तिब्र र दिगो विकासका लागि नीतिगत स्थिरता आवश्यक देखिएको उल्लेख गरेकाे छ । व्यवसायीहरुले मुख्यसचिवलार्इ अर्थतन्त्र सुधारको लागि नीतिगत सहजिकरण गर्नु सुझाव सेमत दिएका छन् ।
मुख्यसचिव अर्यालसँगको भेटका क्रममा चेम्बरका अध्यक्ष कमलेश अग्रवालले सरकारले अर्थतन्त्रमा आएको शिथिलता कम गर्न अविलम्व पहल गर्न आग्रह गरे । उनले मुलुकको आर्थिक समृद्धिका लागि नितिगत स्थिरताको आवश्यक देखिएको बताए ।
अध्यक्ष अग्रवालले नीतिगत स्थिरता भएमा मात्रै मुलुकमा लगानीको वातावरण सिर्जना ,उत्पादन वृद्धि गर्न र रोजगारी सिर्जना गर्न सकिने बताए । उनले राज्य व्यवस्था समितिमा विचाराधिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो सम्बोधन विधेयक,२०७६ मा निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने व्यवस्थाले निजी क्षेत्र हतोत्साहित भएको उल्लेख गरे ।
यस्तो व्यवस्थाले निजी क्षेत्रको लगानी समेत निरुत्साहित गर्ने भन्दै निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन नहुने उनकाे माग छ ।
उनले नेपालको बैंकिङ क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको निजी क्षेत्रलाई बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको संशोधन प्रश्तावमा १ प्रतिशत भन्दा बढी शेयर हुनेले कुनैपनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाले प्रत्यक्ष रुपमा लगानीमा असर परी आर्थिक वृद्धिमा असर पुग्ने बताए ।
उनले राजश्व र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय अन्तर्गत ल्याउनुपर्ने उल्लेख गरे । सरकारले लक्ष्य अनुसारको पुँजीगत खर्च नहुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने गरेको उल्लेख गर्दै पुँजीगत खर्च गर्नको लागि कार्यदल गठन गरेर निरन्तर अनुगमन गरिनुपर्नेमा जोड दिए ।
राष्ट्र बैंकमा सञ्चिति रहेको २० खर्ब रकम आर्थिक गतिविधिमा प्रयोग गर्नसके आर्थिक विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने उनले बताए । लचिलो मौद्रिक नीति र नयाँ सरकारले नयाँ आशा जगाए पनि आर्थिक शिथिलताको अवस्थामा रहेको उनले उल्लेख गरे । अनाधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धी कानून निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने उनकाे भनाइ छ ।
चेम्बरका निःवर्तमान अध्यक्ष राजेन्द्र मल्लले धितोपत्र बोर्डमा दर्ता कम्पनी सञ्चालकको स्वामित्वमा रहेको शेयर १ वर्षसम्म बिक्री गर्न नपाइने व्यवस्था गर्न हटाउनुपर्ने बताए ।
उनले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१क) बमोजिम संगठित सञ्चालकले आफ्नो कार्यकालमा वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको शेयर खरिद–बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक भएको बताए ।
शेयर बिक्री सम्बन्धी व्यवस्था कडा हुँदा कम्पनीमा सञ्चालक बस्न समेत समस्या भएको उल्लेख गरे । सञ्चालकहरू पनि कम्पनीका बाँकी सबै शेयरधनीहरूजस्तै लगानीकर्ता भएकाले शेयर बेच्न पाउनुपर्ने उनकाे भनाइ छ ।
उनले लगानीको दृष्टिकोणले हेर्दा कम्पनीका अन्य शेयरधनीको आर्थिक हित र सञ्चालकको आर्थिक हितमा कुनै भिन्नता नभएको बताए । व्यवसायीले आफ्नो चल सम्पती बेच्न नसक्ने अवस्थामा उद्यम, व्यवसाय र अत्यावश्यक घरायसी काममा समेत विविधीकरणमा अवरोध आउने भन्दै सहजिकरणको लागि माग गरे ।
चेम्बरले पछिल्लो काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने अदालतको फैसलाले पनि घरजग्गा व्यवसायीहरुलाई समस्यामा पारेको भन्दै मुख्य सचिवको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्