इथानोलको मूल्य एक महिना भित्र तोक्छौँ: मन्त्री भण्डारी


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा सरकार धेरै अघि बढिसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार काठमाडौँमा आयोजना गरेका ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रको वृहत् बहस’ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पुरा गरिसकेको बताए ।

“पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एक महिना भित्र टुङ्ग्याउँछौँ”,मन्त्री भण्डारीले भने । इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको उनले बताए ।

इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने उनले बताए । पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्ने विषय पछिल्लो समय निकै चर्चामा छ ।

२०६० सालमा नै इथानोल उत्पादन र प्रयोगको नीति बने पनि हालसम्म कार्यान्वयनमा जान सकेको छैन । तर, नेपालमा इथानोल उत्पादन र मिश्रण सम्भव रहेको जनाउँदै नेपाल आयल निगमले आवश्यक तयारीका साथ उत्पादनमा जाने प्रतिबद्धता जनाएको छ ।