कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छः वनमन्त्री शाही


काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हाँसिल गर्नेगरी नेपाल प्रश्तुत हुने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आईतवार कोप २९ बारे जानकारी दिँदै उनले व्यवस्थित एजेण्डासहित नेपाललाई कसरी बढी कोपबाट उपलब्धि हाँसिल गराउन सकिन्छ भन्ने हिसावले अघि बढ्ने बताए ।

उनले थप अझै गोष्ठी, विचारहरु र आवश्यक सेमिनरहरु गरी सुझाव संकलन गरेर अगाडि बढ्ने र संख्यालाई व्यवस्थित गर्ने कुरामा मन्त्रालयको ध्यान केन्द्रित रहेको उल्लेख गरे ।

प्रभावित क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने र त्यसमा पनि कर्णाली प्रदेशको प्रतिनिधित्व अनिवार्य गराउने कुरा सकारात्मक रहेको भन्दै मन्त्रालयले गम्भीरताका साथ लिने उनकाे भनाइ छ ।

उनले कर्मचारीको संख्या धेरै भएको गुनासो आएकाले कम गर्नेमा आफूहरु लागेको बताए । कोप २९ लाई विगतका कोपहरु भन्दा व्यवस्थित र नेपाललाई थप उपलब्धि हुने किसिमले मन्त्रालयले काम गरिरहेको उनले उल्लेख गरे ।

मन्त्री ठकुरीले मन्त्रालयले समितिले दिएका सुझाव पूर्ण रुपमा कार्यान्वनय गर्ने प्रतिवद्धता समेत जनाए ।