खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा चाडपर्व लक्षित खाद्य पदार्थहरूको अनुगमन


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खाद्य पदार्थहरूको नियमित निरीक्षण र अनुगमन गरेको छ।

विभागले हिजाे (साेमबार) काठमाडौँका प्रमुख खाद्य पसलहरूमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार तीनवटा अनुगमन टोली खटाई अनुगमन गरेको हो।

यस क्रममा विभिन्न खाद्य व्यवसायमा सरसफाइ र खाद्य गुणस्तरमा कमी भेटिएको विभागले जानकारी दिएको छ। निरीक्षणका क्रममा गौतम स्विट्स, न्युरोडको सरसफाईको अवस्था सामान्य रहेको पाइए पनि व्यक्तिगत सरसफाई र तेलको बारम्बार प्रयोगमा ध्यान दिन निर्देशन दिइएको छ।

इन्द्रचोकस्थित स्वस्तिक स्विट्स एण्ड स्नाक्स प्रा.लि.मा भने सरसफाई असन्तोषजनक पाइएको छ भने पेष्ट कन्ट्राेल को पर्याप्त व्यवस्था नभएकोले सुधार गर्न निर्देशन दिइएको छ। यसैगरी, कर्नर ताजा गुदपाक भण्डारमा पनि पेष्ट कन्ट्राेल को व्यवस्थामा कमी पाइएको विभागले जनाएकाे छ ।

ललितपुरको गोदावरीस्थित प्रशंसा कलेक्शन एण्ड रिफाईन प्रसोधन केन्द्रमा नक्कली घ्यूसहितका ७२ डब्बा शिलबन्दी गरिएको भेटिएको थियो, जसलाई स्थानीय तहका प्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ। भक्तपुरका मेहता स्टोर र श्री शुभ लक्ष्मी जनरल स्टोरमा उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थहरु अव्यवस्थित रूपमा राखिएको पाइएकोले सुधार गर्न निर्देशन दिइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार यी अनुगमनको उद्देश्य चाडपर्वको समयमा उपभोक्ताहरूलाई सुरक्षित र स्वच्छ खाद्य पदार्थ उपलब्ध गराउनु रहेको छ।