१०१ वर्षामापन केन्द्रमा नाघ्यो सतर्कता तह, मुख्य नदीहरुमा रेड अलर्ट


काठमाडौँ। शुक्रवारदेखिको अविरल वर्षा जारी छ । रातभर निरन्तर पानी परिरहेकोमा शनिवार पनि जारी रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।

विभागका अनुसार शनिवार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

बिहान ६ः२० को मापन अनुसार देशभरका हाल सञ्चालित २६९ स्वचालित (रियलटाइम) केन्द्रहरू मध्ये १०१ केन्द्रहरूमा सतर्कता तह भन्दा बढी वर्षा भएको छ।

विभागले १ घण्टामा ६०, ३ घण्टामा ८०, ६ घण्टामा १००, १२ घण्टामा १२० र २४ घण्टामा १४० मि। मि। भन्दा बढी वर्षा भएमा बाढी तथा पहिरोको लागि अलर्ट जारी गर्ने गर्दछ।

नारायणी, वागमती, कोशी लगायतका ठुला नदीदेखि सहायक नदीहरुको जलतह पनि सतर्कता तहभन्दा बाथिबाट निरन्तर बगीरहेकाले विगागले रेड अलर्ट जारी गरकोछ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुनेछ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकाले थप सतर्कता अपनाउन पर्नेछ।

अविरल वर्षा शनिवार राती पनि जारी रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिवार राती बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।