काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्बाट धेरै क्षति हुन नदिन पूर्वतयारीलाई जोड दिनुपर्ने बताएका छन् ।
मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले विपद्बाट ज्यान गुमाएकाहरूको दुःखमा सरकारले शोक घोषणा गरेको बताउँदै देशलाई ठूलो जनधनको क्षति भएको बताएका हुन् । उनले सवा २१५ जना भन्दा बढी हालैको विपद्जन्य घटनाहरूबाट नेपालीहरूले ज्यान गुमाएकोप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार र राहतमा सरकारले आवश्यक काम गरिरहेको बताए ।
“सरकारले नै शोक घोषणा गरेको छ । एकदमै ठूलो क्षति देशलाई भएको छ । सवा दुई सय भन्दा बढीको संख्यामा नेपालीहरुको ज्यान गएको स्थिति छ । कयौँ घाइते हुनुहुन्छ । कति बेपत्ता हुनुहुन्छ । धेरै जनधनको क्षति भएको स्थिति छ । यस्तो बेलामा हामीले यसलाई आपत्कालीन समयमा छलफल गर्नुपर्ने मात्रै होइन, निर्णय गरेर काम गर्नुपर्ने विषय भएकाले यसलाई हामीले औपचारिक होइन, अनौपचारिक ढंगले छलफल गरेर यसलाई टुंग्याउने कोशिस गरिरहेका छौँ,” उनले भने ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले अहिले संघीयताको अभ्यासका क्रममा रहेको भन्दै तीन तहकै सरकारबीच समन्वय गरी काम गर्नुपर्नेमा जोड दिए । उनले प्रदेशमा पनि राम्रा र ठूला अस्पतालहरु रहेको भन्दै तीन तहका सरकारको समन्वयबाट विपद् प्रभावितहरूको उपचारलाई प्रभावकारी बनाउन सकिने बताए ।
राहत उद्धार र विपद्पछिको स्वास्थ्यमा हुने समस्याहरुको बारेमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । केन्द्र, प्रदेश र स्थानीय तहले विपद्मा परेकाहरुको उद्धार र उपचार हुन्छ भन्ने सुनिश्चित गर्नु नै राज्यको अहिलेको दायित्व भएको बताए ।
प्रतिक्रिया दिनुहोस्