अवरुद्ध चार राजमार्ग आइतवारसम्ममा खुल्ने, विपी राजमार्ग दसैँअघि नखुल्ने


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सडक सञ्जाल विच्छेद भएका कारण विपी राजमार्गमा सयौँ सवारी साधनहरू फसेर बसेका र सवारी साधनका चालक र सहचालकहरू समेत अलपत्र परेका भन्दै सरकारले उनीहरूको उद्धारका लागि काम गरिरहेको बताएका हुन् ।

उनले विपी राजमार्ग दसैँ अगाडी खुलाउन नसकिने निस्कर्ष सरकारको रहेको स्पष्ट पारे । उनले देशभरको विपद्मा परेका नागरिकहरुको उद्धारमा सरकार लागिरहेको बताए । सडक विभागले नेपाली सेनाको तरिकामा काम गरिरहेको भन्दै उनले विदाको बेलामा पनि विभागका कर्मचारीहरू विभिन्न उपकरणहरू लिएर काम गरिरहेका जानकारी दिए ।

बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव केशवकुमार शर्माले अवरुद्ध राजमार्गहरु खुलाउने प्रयास भइरहेको जानकारी दिए । उनले अवरुद्ध रहेका पाँच राजमार्गहरूमध्ये अरनिको राजमार्ग अन्तर्गतको लार्चा–कोदारी खण्ड, मध्यपहाडी राजमार्ग अन्तर्गतको दोलालघाट–राकथुम खण्ड, कान्ति राजपथ अन्तर्गतको घपेली–बगुवा खण्ड, मेची राजमार्ग अन्तर्गतको रमिते–फिदिम खण्डमा काम भइरहेकोले आईतवारसम्म पूर्णरुपमा खुल्ने बताए ।