जाउलाखेलमा कात्तिक ८ गतेदेखि गोदावरी फूल मेला आयोजना हुने


काठमाडौँ । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आउँदाे कार्तिक ८ देखि ११ गतेसम्म ४ दिन जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना हुने भएको छ ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजक फ्लोरीकल्चर एसोसिएशन अफ नेपालले जनाएको छ ।

नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको हो ।मेलामा स्टल राख्न बुकिङका लागि असोज ६ गतेदेखि कार्तिक ७ गतेसम्म खुल्ला गरिएको छ । यस्तै, फ्यान सदस्यहरूको लागि प्रति स्टल शुल्क २० हजार कायम गरिएको छ । जसमा गैर सदस्यहरूको लागि प्रति स्टल शुल्क ३० हजार रहेको एसोसिएसनले जनाएको छ । सो मेलामा विभिन्न प्रकारका फूल तथा फूलका सामाग्रीहरू प्रदर्शन तथा बिक्री गरिने छ ।

विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गराइने बताइएको छ ।

आयोजकका अनुसार स्टल बुक गर्दा तोकिएको प्रति स्टल वापत लाग्ने शुल्क सत प्रतिशत भाडा अग्रिम बुझाउनु पर्ने छ भने प्रदर्शनीमा भाग लिने सदस्यको आ.ब. २०८१\०८२ को फ्यान सदस्यता नबिकरण भएको समेत हुनुपर्नेछ । मेला स्थलमा स्टल सजावट कार्य २०८१ कार्तिक ७ गते बिहान ८ बजे देखि खुल्ला हुने छ । मेला उद्घाटन मिति २०८१ कार्तिक ८ गते बिहिबार ११:०० बजे हुनेछ भने मेला समापन २०८१ कार्तिक ११ गते बेलुका ५.०० बजे हुने एसोसिएनले जनाएको छ ।

पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरूबिच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु प्रदर्शनीको उद्धेश्य रहेको छ ।

हाल पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने अपेक्षा आयोजकको छ ।