कात्तिक ८ देखि जावलाखेलमा १७ औं गोदावरी फूल मेला, ४० हजारकाे अवलाेकन, कराेडकाे काराेबार प्रक्षेपण


काठमाडाैँ । कुनै समय नेपालमा सौखका रूपमा मात्रै प्रयाेग गरिने फूल खेती पछिल्लो समय व्यवसायिक ढंगले फस्टाउँदै गएको छ। फूल खेतीबाट आत्मनिर्भर बन्न सकिने सम्भावनाले नयाँ व्यवसायीहरू यस क्षेत्रमा आकर्षित भइरहेका छन्। व्यवसायिक फुल खेतीतर्फको यो रुचि र लगानीले यस उद्योगलाई थप विस्तार गर्ने संकेत गरेको छ।

पुष्प व्यवसाय फस्टाउदो छ भन्ने कुरालाई बर्षेनी हुने पुष्प मेलाले पनि प्रमाणित गर्दै आएका छन् । नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी फ्लोरीकल्चर एसोसिएशन अफ नेपालकाे आयाेजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले ‘राेपेर फूल गाेदावरी, सजाआाै घर आँगन वरिपरि’ भन्ने नाराका साथ १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आउँदाे कार्तिक ८ देखि ११ गतेसम्म ४ दिन जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना हुने भएको हाे ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्‍याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजक फ्लोरीकल्चर एसोसिएशन अफ नेपालले जनाएको छ ।

मेलामा स्टल राख्न बुकिङका लागि असोज ६ गतेदेखि कार्तिक ७ गतेसम्म खुल्ला गरिएको छ । यस्तै, फ्यान सदस्यहरूको लागि प्रति स्टल शुल्क २० हजार कायम गरिएको छ । जसमा गैर सदस्यहरूको लागि प्रति स्टल शुल्क ३० हजार रहेको एसोसिएसनले जनाएको छ । सो मेलामा विभिन्न प्रकारका फूल तथा फूलका सामाग्रीहरू प्रदर्शन तथा बिक्री गरिने छ ।

विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ५ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ र गाेदावरीकाे कट) मा प्रतिस्पर्धा गराइने बताइएको छ । आयोजकका अनुसार स्टल बुक गर्दा तोकिएको प्रति स्टल वापत लाग्ने शुल्क सत प्रतिशत भाडा अग्रिम बुझाउनु पर्ने छ भने प्रदर्शनीमा भाग लिने सदस्यको आ.ब. २०८१\०८२ को फ्यान सदस्यता नबिकरण भएको समेत हुनुपर्नेछ । मेला स्थलमा स्टल सजावट कार्य २०८१ कार्तिक ७ गते बिहान ८ बजे देखि खुल्ला हुने छ । मेला उद्घाटन मिति २०८१ कार्तिक ८ गते बिहिबार ११:०० बजे हुनेछ भने मेला समापन २०८१ कार्तिक ११ गते बेलुका ५.०० बजे हुने एसोसिएनले जनाएको छ ।

४ दिने यस गाेदावरी फूलकाे प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलाेकन गर्ने साथै एक कराेडभन्दा बढीकाे व्यवसायीक काराेबार हुने आयाेजककाे अपेक्षा छ । साथै फ्यानकाे आयाेजनमा र लाइन्स क्लब अफ ग्लाेबल फ्लाेरिकल्चरसँगकाे सहकार्यमा मेला अवधिभित्र रक्तदान कार्यक्रमकाे समेत आयाेजना गरिएकाे फ्यानले जनाएकाे छ । पुष्प व्यवसायीहरूलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरूबिच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु प्रदर्शनीको उद्धेश्य रहेको फ्यानका तदर्थ समितिका अध्यक्ष सूरेशभक्त श्रेष्ठले बताए ।

हाल पुष्प उत्पादक कृषकहरूको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने फ्यानका निर्वतमान अध्यक्ष मिन बहादुर तामाङले बताए ।