२० लाख ५० हजार किसान विद्युतीय प्रणालीमा सूचीकृत, वर्षाका कारण लक्ष्य पूरा हुन नसकेको कृषिमन्त्रीको भनाइ


काठमाडौँ । देशभर २० लाखभन्दा बढी कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । सोमबार कृषिमन्त्री रामनाथ अधिकारीले पत्रकार सम्मेलन गरी सय दिनको कार्यसम्पादन सार्वजनिक गर्दा १ लाख ३५ हजार मात्र किसान सूचीकारण भएको जानकारी गराएका हुन् । हालसम्म ४० लाख ३० हजार कृषक घरधुरीमध्ये २० लाख ५० हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले गत भदौ ९ गते सय दिनको कार्ययोजना सार्वजनिक गर्दा असोजसमान्त सम्ममा ३ लाख किसान सूचीकरण गर्ने बताएका थिए, तर असोज १० गतदेखि तीनदिनसम्म परेको वर्षाले ल्याएको बाढी, पहिरो र डुबानका कारण कृषि तथा पशुपन्छी मन्त्रालयले लक्ष्य अनुसार काम गर्न नसकेको बताए । वर्षाका कारण कृषि तथा पशुपन्छी विकास क्षेत्रमा मात्र करिब ६ अर्ब नोक्सानी भएको छ।

किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसानलाई उपलब्ध गराउने सेवा,सुविधा र अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणाली मार्फत कृषक घरधुरी सूचीकृत भएको गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सरकारले किसान सूचीकरणका लागि एउटा वेबसाइट निर्माण गरेको छ । उक्त वेबसाइटमा किसानको नाम, उसले गर्ने खेतीको क्षेत्र, किसानको संख्या, परिवारको सदस्य संख्या, उमेर, उत्पादन, वार्षिक आम्दानी तथा खर्च, बजारसँग पहुँच,कृषि व्यवसायी, फर्म, उद्यमीलगायतको विवरण संकलन गरेर राख्ने गरिएको छ ।