घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी


काठमाडाैँ । तिहार आउन अब केही दिन मात्रै बाँकी छ । यस वर्ष कार्तिक १८ गते भाइटिका परेको छ । १४ गतेदेखि तिहार विधिवत रुपमा शुरु हुनेछ । यतिबेला भक्तपुरका फूल व्यवसायी र किसानलाई मखमली फूलको माला बनाउन भ्याइ नभ्याइ छ । तिहारमा मखमली फूलको माला विशेष मानिन्छ ।

त्यसैले पनि भक्तपुरवासी यतिबेला माला उन्न, फूल टिप्नमा व्यस्त छन् । भक्तपुरको गुण्डुका कृषक मखमली फूल टिप्न बिहानै बारीमा पुग्छन् । दिउँसो घाम लागेको बेलामा बिहान टिपेको फूल उन्छन् र माग गरेअनुसार बजार पठाउँछन् । मखमली फूलको पकेट मानिने गुण्डुको मुख्य आयश्रोत नै फूलको व्यापार हो । किसान एक अर्कामा अर्मपर्म गरी मखमली फूलको खेती गर्दछन् ।  नेपालीहरूको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौँ) लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए ।

भक्तपुर गुण्डुकी जानु कार्की यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको बताउँछन् । अहिलेसम्म २५ हजार रुपैयाँ जतिको माला विक्री गरिसकेको बताए ।उनले माला र फूलको मूल्य भने विगतको सरह नै रहेको बताए । एउटा मालाको २५ रुपैयाँसम्ममा बेच्ने गरेको बताए । स्थानीय सुमित्रा कार्की फूल राम्रो नभएको गुनासो गरे ।

युवा पुस्ताले चासो नदेखाउने र वृद्धवृद्धाले काम गर्न नसक्दा गुण्डुमा फूलको उब्जनी नै मासिने हो की भन्ने चिन्ता उनलाई छ । मालाको मूल्य विगतको झैँ यस वर्ष पनि २० रुपैयाँ नै रहेको बताए । आफूसँग किनेर लैजानेहरुले बढी नाफा खाने गरेको तर किसानलाई २० रुपैयाँ भन्दा बढी नदिने गरेको गुनासो उनको छ । दुःख र मेहनतअनुसार मूल्य नभएको बताए ।

कार्कीकाअनुसार फूलको खेती गरेर माला बनाउनसके धान भन्दा नाफा हुन्छ । २० वर्षदेखि फूलको माला बनाउँदै आउनुभएकी गुण्डुकै स्थानीय श्रृष्टी कार्की अरू सबैको मूल्य बढ्दा फूलको मूल्य किन बढेन ? भन्दै प्रश्न गरे । आँखा राम्रोसँग देखेर माला उन्ने बेला र अहिले आँखा कमजोर भएको बेलामा माला उनेको मूल्य बराबर रहेको बताए ।

उनले किसानबाट लगेपछि व्यापारीहरुले बढी खाने गरेको बताए । पुस्तौँदेखि गरिरहेको भएर आफूहरूले माला बनाउन नछोडेको बताए । उनले भने, “हामीले गरिरहेको भएर छोड्न नसकेको हो, यो बसिबियाँलो । बुढाबुढी भएपछि त कहीँ जान सकिएन नि त । अलि अलि गरिरहेको मात्रै हो, तर यसको मूल्य चाहीँ छैन ।”

भक्तपुरको गुण्डुमै विगत १० वर्ष यता मखमली फूलको माला बनाइ बेच्दै आएकी किसान सानु सुनुवार काम केही नभएकाले फूलको उत्पादन गरी माला बनाएर बेच्नसके घर खर्च चलाउन सहज भएकाले माला उन्ने र बेच्ने काममा लागेको बताउँछिन्। उनले फूलको व्यापार राम्रो नभएको गुनासो गर्दै २० रुपैयाँसम्म व्यवसायीले किनेर लैजाने तर किसानलाई त्यसले फाइदा नहुने बताइन् । उन्नत जातको फूल किसानलाई दिनसके त्यसबाट फाइदा हुने उनको भनाइ छ । 

गुण्डुकै अर्की स्थानीय विनिता केसी गुण्डुका किसान मखमली खेतीमा आवद्ध रहेको र घरको काम गरेर फूलको काम गर्न पनि भ्याउने भएकाले खर्च जुटाउन मखमली फूल लगाउने र माला बनाइ बेच्ने गरिरहेको बताउँछिन् । उनले अरू कुरा हेरी फूल खेती गर्न गाह्रो रहेको बताइन्। उनले मखमली फूलमा यस वर्ष विगतको तुलनामा बढी पानी परेकाले क्षति पुगेको बताइन् । किसानले गरेअनुसार बजारमूल्य नरहेको गुनासो गरिन् ।

नगरपालिका र वडाहरुले राम्रो र उन्नत बीउ वितरण गर्नसके किसानले फूल उब्जाउन कठिनाइ भोग्न नपर्ने स्थानीय बताउँछन् । महिला मात्रै होइन गुण्डुका पुरुष पनि माला उन्नमा व्यस्त देखिन्छन् । सूर्यविनायकका किसान शहदेव बस्नेत १२ वर्षदेखि फूलको माला उन्दै र बेच्दै आएका छन् । पोहोरको तुलनामा फूल सिजन केही ढिला भएको र बेमौसमी झरीले क्षति गरेको बताए । गत वर्ष २५ सय माला बनाएकोमा यस वर्ष अहिलेसम्म १ हजार माला मात्रै बनाउनसकेको बताए । 

फूलको व्यापार क्रमशः वर्षेनी घट्दै गएको किसान बताउँछन् । यस वर्ष विगतको तुलनामा फूलको उत्पादन कम भएको र बजार पनि नरहेको किसानको गुनासो छ । विचौलियाकाकारण किसानसँग व्यापारीहरुको भेट नहुने र विचौलियाले बाटोबाटै व्यापारीहरुलाई फर्काइदिने गरेको किसान बताउँछन् । सरकारले पनि उन्नत प्रकारको बीउबिजन दिन नसकोको गुनासो उनीहरुको छ । साथै आयातित फूलले बजार लिँदा देशका किसानले लगाएको फूल विक्री हुन छोडेको गुनासो उनीहरूको छ ।