मोबाइल ल्याब भ्यानद्धारा चाडपर्व लक्षित खाद्य बजार निरीक्षण, काठमाडौँका विभिन्न खाद्य व्यवसायमाथि कारबाही


काठमाडाैँ । चाडपर्वको अवसरमा खाद्य स्वच्छता सुनिश्चित गर्न नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी काठमाडौँ उपत्यकामा विभिन्न खाद्य व्यवसायहरूको निरीक्षण गरेको छ। यस क्रममा केही व्यवसायमा गम्भीर कमजोरी पाइएको र आवश्यक कारबाही अघि बढाएको विभागले जानकारी दिएको छ।

विभागद्धारा जारी गरिएको प्रेस नोटअनुसार अरबिका पिज्जेरिया प्रा.लि. लगायतका केही व्यवसायहरूमा उपोभग्य मिति समाप्त भएका खाद्य पदार्थ फेला परेका थिए। सिनामंगलस्थित पिज्जेरियाले मिति समाप्त भएको तोफु र अन्य खाद्य पदार्थको भण्डारण गरेको पाइएपछि ती वस्तु नष्ट गरिएको छ। साथै, किचनको सरसफाईमा सुधार गर्न निर्देशन दिइएको र पुनः निरीक्षणसम्मका लागि खाना तयारी कार्य बन्द गरिएको छ।

कालु स्टोर तथा दाउरा थकाली प्रा.लि. जस्ता व्यवसायहरूमा सामान्य सुधार आवश्यक रहेको देखिएको छ भने रामेश्वर स्विट्स एण्ड स्न्याक्समा भण्डारण र सरसफाईमा कुनै गम्भीर कमी नभेटिएको विभागले जनाएकाे छ । त्यस्तै हात्तिवनस्थित नेपाल डेरी प्रा.लि.लाई सरसफाईमा सुधार गर्न निर्देशन दिइएको छ, साथै उपभोक्ता संरक्षण ऐनअनुसार रु. ५०,००० जरिवाना गरिएको छ।

यस निरीक्षणले खाद्य पदार्थहरुको गुणस्तर र उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि गरिएको प्रयासलाई बलियो बनाउने विभागले जनाएको छ।

विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार, निरीक्षण टोलीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को मापदण्डअनुसार कारबाही अघि बढाएको छ।