सरकारी सेवा लिन कार्यालय धाउनु नपर्ने व्यवस्था गर्दैछौँः प्रधानमन्त्री


काठमाडाैँ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी चालकले ट्रायल पास गर्नासाथ नागरिक एपमा नै लाइसेन्स पाउने बताएका छन् ।

सरकारको सय दिने उपलब्धिबारे जानकारी गराउँदै बुधवार सिंहदरबारमा उनले सवारी नियम उल्लंघनको जरिवाना तिर्दा अब जहाँ नियम उल्लंघन भएको हो, सोही स्थानमा जरिवाना भुक्तानी गर्न सकिने सजिलो व्यवस्था सरकारले गरेको बताएका हुन् । उनले वैदेशिक रोजगारीमा मृत्यु भएकाहरुको परिवारलाई दिने गरिएको क्षतिपूर्ति १० लाख पुयाइएको बताए । यसअघि ७ लाख रुपैयाँ दिने गरिएको थियो ।

त्यस्तै सरकारले कुनैपनि सरकारी सेवा लिन कार्यालय धाउनु नपर्ने, कर्मचारी भेट्नु नपर्ने र घरमै बसेर सबै सेवा लिनसक्ने व्यवस्था गर्न लागेको बताए । यसले सेवा प्रवाहमा हुँदै आएको झन्झट अन्त्य हुने र सुशासन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले सरकारी कार्यालयमा कामका फाइलहरु अड्काउने, कामको समयावधी लम्याउने र यसबाट सेवाग्राहीले दुःख पाउने स्थितिबाट मुक्त गर्न क्युआर कोडमार्फत फाइल ‘मुभमेन्ट ट्र्याकिङ’ गर्ने प्रणाली परीक्षणका रूपमा सुरूवात गरेको बताए । अब सरकारी कार्यालयमा हुने आफ्नो कामको जानकारी मोबाइलबाटै पाउने व्यवस्था गरिएको बताए ।

उनले लगानीकर्ताको भौतिक उपस्थितबिना कुल पूँजी ५० करोड रुपैयाँसम्मको विदेशी लगानी स्वचालित प्रणालीबाट तुरुन्त स्वीकृतिको प्रमाणपत्र प्राप्त गर्नसक्ने गरी उद्योग विभागमा स्वचालित मार्ग कार्यान्वयनमा आएको बताए । नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम लागू भएका ५८ नापी कार्यालयमा अनलाइनमार्फत सेवा ‘ट्रयाकिङ्’ प्रणाली लागू भएको पनि बताए ।