नेप्से ४९ अंकले घट्याे, २ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट


काठमाडौं । सेयरबजारको निरन्तर गिरावट आज पनि कायमै रहेको छ । सोमबार पनि नेप्से परिसूचक ४९ अंकले घटेको छ भने कारोबार रकम केही बढेको छ । नेप्से परिसूचक १८ सय को हाराहारीमा झरेको छ ।

असार मसान्तको किस्ता बुझाउनको लागि पनि रकमको जोहो गर्न सेयर बेचेको हुनाले बजार घट्न अझै मद्दत पुगेको सेयर बजारका जानाकार बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४९.३१ अंकले घटेर १८८४.८१ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.६६ अंकले घटेर ३६६.१९ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेडको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । बैंकको संस्थापक सेयरको ११ करोड ८३ लाख २० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कूल २३० वटा कम्पनीको ६१ लाख ८६ हजार ९ सय ४१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७५ करोड ६ लाख रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।