गन्ध, आकार र रङ्गको आधारमा ग्याँसको मूल्य निर्धारण गरिने


काठमाडौं । नेपाल आयल निगमले ग्याँसको दोहोरो मूल्य कायम गर्ने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले सर्वसाधारण र व्यवसायिक प्रयोजनका लागि ग्याँसको दोहोरो मूल्य बनाउने तयारी भइराखेको बताए । उनले गन्ध, आकार र रङ्ग फरक राखेर दोहोरो मूल्य बनाउने तयारी गरिराखेको बताएका छन् । उनले भने,“गुणस्तर तथा नापतौल विभागको महानिर्देशकको संयोजकत्वमा समिति गठन गरेको छ । त्यसको प्रतिवेदन आएपछि ग्यासको दोहोरो मूल्य कायम हुन्छ ।”

पूर्वाधार कर नहटाउन अर्थमन्त्रालयबाट पत्र आएकोले हाललाई पूर्वाधार कर नहटाएको उनले बताएका छन् । “मन्त्री परिषद् बैंठकले पुर्वाधार कर हटाउने निर्णय गरे पनि अर्थमन्त्रालयबाट त्यो कर नहटाउन भनेकोले अर्को निर्णय नभएसम्म पूर्वाधार कर हटाउँदैनौं”, उनले भने । आर्थिक ऐन अनुसार पेट्रोलियम पदार्थको भन्सारदरमा १० रुपैँया पूर्वाधार कर भन्सारले उठाउने गरेको छ ।

आयल निगमको कर्मचारी कम सेवा सुविधामा कार्यरत रहेको बताए । उनले आयल निगमका कर्मचारीलाई २० वर्षदेखि बोनस नबाँढेको उनले जानकारी दिए । हप्ताको दुई दिन बिदा दिँदा पेट्रोलको खपत बढेको थानीले बताएका छन् । उनका अनुसार चैतमा ६३ हजार किलोलिटर, वैशाखमा ६७ हजार किलोलिटर र जेठमा ५९ हजार किलो लिटर खपत भएको छ । जेठमा शनिबार र आइतबार बिदा दिँदा ११ प्रतिशत पेट्रोल खपत भएको र डिजेल ४ प्रतिशत खपत भएको थानीले बताए । सरकारले जेठ १ गतेदेखि लागू हुने गरि हप्ताको दुई दिन आइतबार र शनिबार बिदा दिने निर्णय गरेको थियो भने असार १ गते देखि हटाएको छ ।