नेपाली उत्पादन प्रदर्शनीको लागि पोर्टल सार्वजनिक, व्यापारघाटा कम गर्ने विश्वास


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाली उत्पादन बजारीकरणको पोर्टल सार्वजनिक गरेको छ । नेपाली उत्पादनको प्रर्दशनी, बजारीकरण र व्यापार सहजताको लागि पोर्टल सार्वजनिक गरेको हो । पोर्टलको उद्घाटन विहिबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले गरेका हुन् ।

कार्यक्रममा मन्त्री बडुले घरेलु तथा साना उद्योगको व्यापार वृद्धिका लागि नयाँ आयाम सुरु गरेको बताए । विश्व अर्थतन्त्रमा नकारात्मक असर परिराखेको बेला नेपालको अर्थतन्त्र उत्साह जनक नभएको र उत्पादन बढ्न नसकेको बताएका छन् । उनले भने, “नेपालको व्यापार घाटा बढ्दै गइराखेको छ । त्यसलाई घटाउन घरेलु तथा साना उद्योगले सहयोग पुर्याउने विश्वास लिएको छु । हामीले ठुलो फड्को मार्ने कामको सुरुवात गरेका छौं ।”

देशको अर्थतन्त्र बलियो बनाउन घरेलु तथा साना उद्योगको भुमिका ठुलो हुने मन्त्री बडुले बताए । आत्मनिर्भर बन्नको लागि सरकार विभिन्न कार्यक्रम लिएर अगाडि बढेकोले सहयोग गर्न तयार रहेको उनकाे भनाइ छ।

नेपाल २०२६ मा विकाशिल देशमा जाने भएकोले अविकसित देशको लागि दिने सेवा कटौती नगर्न डब्लूटिओसँग आग्रह गरेको बताएका छन् । उनले भने, “हामीलाई भन्सार छुट सहितका सु्विधा विकाशिल देशमा गएपछि निरन्तर चाहिने कुरा डब्लूटिओमा उठाएको छौं । त्यो सुविधा हटाए समस्या पर्ने देखिएकोले केहि समय त्यो नहटाउन आग्रह गरेको छौं । नेपाली सामानको गुणस्तर बढाउन उनले आग्रह गरेका छन् ।”

उद्योग वणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयातबाट मात्र अर्थतन्त्र चलिराखेकोले अहिले समस्या देखिएको बताए । उनले भने, “नेपालको अर्थतन्त्र आयातबाट मात्र चलिराखेको छ । त्यस कारणले मूल्यवृद्धि भइराखेको छ । तरलताको संकट र ब्याजदर पनि बढिराखेको छ ।” उनले मूल्यवृद्धि अझै हुने बताएका छन् । एकवर्षको अवधिमा ब्याजदर दोब्बर बढेकोले यसको असर परेको उल्लेख गरेका छन् ।

नेपालमा व्यवसाय गर्दा लगानी धेरै हुने भएकोले बाहिरबाट आएका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको बताएका छन् । साना र मझौला व्यबसायी लाई बजारीकरण गर्न गाह्रो भएको अवस्थामा यस पोर्टलले सहयोग गर्ने अपेक्षा लिएको बताए ।

नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले यस पोर्टल मार्फत विदेश निर्यात गरेको सामानको पैसा सिधै बैंक खातामा आउने व्यवस्था सरकारले मिलाउने पर्ने बताएका छन् । बजेटभन्दा व्यापार घाटा ठूलो भएकोले यस्ता उत्पादनलाई प्रवर्दन गरेर निर्यातको लागि सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

नेपालमा भएको प्राकृतिक स्रोत सिधै निर्यात गर्नुभन्दा त्यसलाई प्रशोधन गरेर निर्यात गर्नुपर्ने बताए । उनले गाँजा उत्पादनको लागि पनि सरकारले कार्यविधि बनाउनुपर्ने बताएका छन् । उनले भने, “गाँजालाई खुल्ला गर्नुपर्छ । यसले क्यान्सर जस्तो जटिल रोगको उपचार र कपडा पनि उत्पादन हुने भएकोले सरकारले कार्यविधि बनाएर यसलाई खुल्ला गर्नुपर्छ ।” उनले ठाउँको अध्ययन गरेर गाँजा खेतीको लागि सरकारले कार्यविधि बनाउनुपर्ने बताएका हुन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बजारमा क्रेता र विक्रेताको समन्वय नभएकोले मन्त्रालयको सहयोगमा डिजिटल साइट सुरुवात गरेको बताए । साइट छ महिना पहिला तयार गरिसकेको भएपनि विभिन्न कारणले सुरुवात गर्न नसकेकोले अहिले सुरुवात गरेको बताएका छन् । उनले भने, “कोभिडको समयमा साना तथा घरेलु उद्योगले उत्पादन बजारमा विस्तार गर्न नसकेको अवस्था थियो । अब यस्ता समस्या आएपनि डिजिटल प्रणालीबाट बजार विस्तार गर्न सकिन्छ ।”

यस पोर्टलले आफ्नै घरबाट बजार विस्तार गर्न सकिने र स्वदेशी उत्पादन प्रवर्दन गर्न सहयोग पुग्ने अपेक्षा गरेको सिंहले बताएका छन् । यसलाई अन्तराष्ट्रियरूप मा लैजानको लागि पनि तयारी गर्ने बताएका छन् ।

नेपाल सरकार उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाली उत्पादनको बजारीकरणका लागि डब्लूडब्लूडब्लू डट एमएसएमईनेपाल डटकम साइट सार्वजनिक गरेको छ ।