संकटमा डेरी उद्योग : रु.३ अर्बको पाउडर दूध र बटर भण्डारण, दैनिक १० करोड रुपैयाँको दूध खेर


काठमाडौं । नेपाल डेरी एसोसिएशनले लकडाउन र निषेधाज्ञाका कारण निजी र दुग्ध विकास संस्थानको झण्डै ३ अर्ब बराबरको पाउडर दुध र बटर भण्डारमा रहेको जनाएको छ ।

चालू पुँजीको रुपमा रहेको रकम सामान बिक्री नभई भण्डारमा थन्किएको कारण कतिपय डेरी उद्योगहरु बन्द हुने अवस्थामा पुगेको एसोसिएशनले जनाएको छ ।

महासचिव प्रल्हाद दाहालले जारी विज्ञप्ति जारी गर्दै भनेका छन्, “पहिलो चरणको लकडाउन १० महिना पछि खुल्दा केहि मात्रामा भए पनि ३ महिनासम्म सहज रुपमा सामान बिक्री भएको थियो ।

तर हाल आएर पुनः नयाँ भेरिएन्टको भाइरस कोभिड– १९ महामारीको दोश्रो लहरले गर्दा फेरी लकडाउन भई दुध तथा दुग्ध पदार्थ बिक्रिमा करिब ६० प्रतिशतमा कमि आई दैनिक १० करोड बराबरको दुध बजार नपाई खेर गैइरहेको छ ।”

अन्य विभिन्न क्षेत्रमा कोभिडको समयमा सरकारले अनुदान र राहत उपलब्ध गराए पनि दुग्ध क्षेत्रले आजसम्म कुनै किसिमको राहत नपाएको भन्दै महासचिव दाहालले यो पेशाप्रति नै आम किसान र उद्योगीको आकर्षण घटिरहेको उल्लेख गरेका छन् ।

उनले उत्पादन क्षेत्रमा आकर्षण बढाउनु पर्नेमा झन निरुत्साहित भएपछि भविष्यमा यसको ठूलो असर पर्ने दाबी गरेका छन् ।

उनले भनेका छन्,“ नेपाल एसोसिएशनले पटक पटक यी तमाम विषयमा कुरा उठाएको र सम्बन्धित निकायमा पत्रचार समेत गरेकोमा कुनै पनि सुविधा हालसम्म पाएको छैन । यो पेशालाई निरन्तरता दिई देशलाई दुग्ध क्षेत्रमा आत्मनिर्भर बनाई, दुग्ध क्षेत्रलाई बलियो बनाउन, उद्योगीहरुको मनोबल उच्च राख्न तत्काल सरकारको तर्फबाट उचित कदम चाल्न आवश्यक छ ।”

एसोसियसनले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ माहामारीको दोस्रो लहरले श्रृजित समस्या समाधानका लागि दूधको उचित व्यवस्थापन तथा उद्योगीहरूको ऋणको व्याज मिनाहा एवं स्टक सामान बराबरको कर्जा उपलब्ध गराई तत्काल किसानको भुक्तानीमा ध्यान दिई किसानको मनोबल उच्च बनाउन सरकारले यस पटकको बजेटमा नै विशेष राहत प्याकेज ल्याउन आवश्यक रहेको उल्लेख गरेको छ ।

कृषि मन्त्री, कृषि सचिव, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशुसेवा विभाग, सात वटै प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना,सात वटै प्रदेश दुग्ध विकास बोर्ड र विकेन्द्रीकृत आयोजना सहयोग इकाई, हेटौंडा,पोखरा, बुटवल, विराटनगरलाई विज्ञप्तिको वोधार्थ दिइएको छ ।

हालको लकडाउनले गर्दा पुरानो मौज्दात रहेको दुग्ध पदार्थ धुलो दूध र बटर अनि अहिलेको थपिंदो क्रमले गर्दा चालु पुजि रोकिन गएको र किसानको पैसा समयमा तिर्न नसकिएको एसोसिएशनको भनाई छ ।

विज्ञप्तिमा भनिएको छ, “विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ माहामारीको दोस्रो लहरबाट उत्पन्न विभिन्न समस्याका कारण सम्पूर्ण दुग्ध उत्पादक किसान, उद्योगीहरुको दैनिक कामकाजमा प्रभाव परेको हुँदा सम्पूर्ण दुग्ध उत्पादक किसान र डेरी उद्योगीहरु विक्षिप्त रहेको जानकारी गरिन्छ ।”