परिसंघले नेपाल स्टार्टअप फेस्ट २०२२ गर्दै


काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) ले आगामी असार ११ गते शनिबार सएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको सहयोगमा स्र्टाटअप फेस्ट २०२२ गर्न लागेको जनाएको छ ।

नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन नवप्रवर्तनकारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको नेपाल उद्योग परिसंघले उल्लेख गरेको छ ।

“स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको र त्यसको सफल कार्यान्वयनका लागि हामीले रचनात्मक भूमिका निर्वाह गर्दै आईरहेका छौं । व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको र नयाँ क्षेत्रहरुमा काम गर्ने संभावना देशमा रहेको हुँदा त्यसलाई प्रोत्साहन गर्ने हाम्रो अभियान छ,” विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल स्टार्टअप फेस्ट २०२२ मा स्टार्टअप्सले लगानी लागि परियोजनासहित प्रस्ताब पेस गरेका छन् । स्टार्टअपहरुलाई लगानीका लागि आबेदन पेश गर्न २७ जेठ सम्मको समय अबधि तोकिएकोमा देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको परिसंघले जनाएको छ ।

त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुती गर्ने अवसर दिने छ भने पूँजी लगानीको अवसर पनि प्रदान गरिने नेपाल उद्योग परिसंघ स्टार्टअप अभियान समिति आयुषी केसीले बताइन् । यो कार्यक्रबाट स्टार्टअपहरुले पूँजी तथा प्राविधिक सहयोग पाउने छन् भने लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर दिएको उनले बताइन् ।

युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न परिसंघले युवा उद्यमी मञ्चमार्फत युवाहरुलाई थप प्रोत्साहन गर्न नेपाल स्र्टाट अप फेस्ट २०२२ गर्न लागेको परिसंघका उपाध्यक्ष रोहित गुप्ताले बताए । यस्ता कार्यक्रमले स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरुलाई उत्साहित बनाउने परिसंघले विश्वास लिएको छ । विभिन्न कम्पनीले पूँजी लगानीको प्रतिबद्धता गरिसकेको परिसंघले जनाएको छ ।