काठमाडाैँ । आज ‘२० औं राष्ट्रिय कफी दिवस’ विभिन्न कार्यक्रमहरूसहित मनाइएकाे छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस दिवसको अवसरमा नेपाली कफीको गुणस्तर प्रवर्द्धन, उत्पादन वृद्धि, र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउन पहल गर्ने घोषणा गरेको छ। यस दिवसले कफी उत्पादक किसान, इस्टेट, प्रशोधनकर्ता, विक्रेता र कफीप्रेमीहरूलाई एकत्रित गर्दै नेपाली कफीको महत्वलाई उजागर गर्ने उद्देश्य लिएको छ।
नेपालमा कफी खेतीको इतिहास वि.सं. १९९५ मा गुल्मीको आँपचौरबाट सुरू भएको हो। हिरा गिरीद्वारा बर्माबाट ल्याइएको कफीको बीउ पहिलो पटक रोपण गरिएको यस खेतीले समयक्रमसँगै व्यावसायिक रूप लिँदै आएको छ। अहिले नेपाली अर्गानिक अराविका जातको कफी गुणस्तर र स्वादका कारण विश्व बजारमा उच्च स्थानमा रहेको छ। अराविका जातले विश्व कफी उत्पादनमा झन्डै ७५ प्रतिशत हिस्सा ओगटेको छ, जसले यसको विशेषता झल्काउँने बाेर्डले जनाएकाे छ ।
नेपालले आर्थिक वर्ष २०८०\०८१ मा १४ करोड ९२ लाख बराबरको ८९ मेट्रिक टन कफी निर्यात गरेको छ भने ४१ करोड ९८ लाख बराबरको ४४३ मेट्रिक टन कफी आयात गरेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ। यस आर्थिक वर्षमा ५०१.३ मेट्रिक टन ग्रीनबीन कफी उत्पादन भएको र ६५४ हेक्टरमा नयाँ रोपण गरिएको छ।
कफी उत्पादनलाई व्यवस्थित गर्न बोर्डले यस वर्ष कफीको न्यूनतम सहमत मूल्य तोकेको छ। फ्रेस चेरी, पार्चमेन्ट र ड्राइ चेरी कफीका लागि ग्रेड ब् को मूल्य क्रमशः प्रति केजी १०५ रुपैयाँ, ५३५ रुपैयाँ, र २८० रुपैयाँ तोकिएको छ। ग्रेड द्य का लागि मूल्य थोरै कम तोकिएको छ।
नेपाली कफीले अन्तर्राष्ट्रिय स्तरमा पनि प्रशंसा पाउँदै आएको छ। लण्डनमा सम्पन्न अन्तर्राष्ट्रिय कफी परिषदको बैठकमा नेपाली कफीको उच्च गुणस्तरबारे सकारात्मक टिप्पणी गरिएको थियो।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कफी क्षेत्रको विकासका लागि सार्वजनिक र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन्। उनले अर्गानिक प्रमाणीकरण, गुणस्तर अभिवृद्धि, र निर्यात प्रवर्द्धनका लागि सरकारको योजनाबद्ध प्रयासका बारेमा चर्चा गरे।
२० औं राष्ट्रिय कफी दिवसले नेपाली कफीको महत्त्व र भविष्यको सम्भावनालाई थप उजागर गरेको छ। यो दिवसले नेपाली कफी क्षेत्रको दिगो विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्