काठमाडाैँ । कृषि उत्पादन र वातावरणीय सन्तुलनका लागि आधारशिला मानिने माटोको संरक्षण र यसको दिगो व्यवस्थापनको महत्त्व उजागर गर्न नेपालमा एघारौं विश्व माटो दिवस विविध कार्यक्रमसहित मनाइने भएको छ। आगामी डिसेम्बर ५ मा हुने यस दिवसको मुख्य नारा ‘माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’ तय गरिएको छ।
कृषि विभागका महानिर्देशक ई. जगन्नाथ तिवारीले आज पत्रकार सम्मेलनमार्फत यस वर्षका कार्यक्रमबारे जानकारी दिँदै किसानहरूलाई माटो परीक्षणको महत्त्वबारे सचेत गराउन र सुधारात्मक उपाय अपनाउन प्रेरित गरिने बताएका छन्। कार्यक्रमअन्तर्गत माटो परीक्षण शिविर, नमुना सङ्कलन तालिम, तथा माटोको उर्वराशक्ति सुधारका लागि विभिन्न गतिविधि सञ्चालन गरिनेछ।
नेपालका खेतियोग्य जमिनमध्ये ६६ प्रतिशत माटो अम्लीय रहेको तथ्यांकले देखाएको छ। माटोको गुणस्तर सुधार्नका लागि सरकारले किसानहरूलाई अनुदानको व्यवस्था गरेको छ। कृषि विभागका अनुसार, यस वर्ष विशेषतः धुनिवेशीमा माटो परीक्षण र नमुना सङ्कलन अभियान सञ्चालन हुने छ।
साथै, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र र प्राटिकल एक्सनले उत्कृष्ट किसानहरूलाई सम्मान गर्ने र माटो व्यवस्थापनमा नवीन विधिका विषयमा छलफल गरिने कार्यक्रम रहेको छ। यसका साथै, टिकटक भिडियो प्रतियोगिताका विजेतालाई विशेष समारोहमा पुरस्कृत गरिनेछ।
कृषि विभागका तर्फबाट किसान, सरोकारवाला, र नीति निर्माताहरूलाई माटो व्यवस्थापनमा सक्रिय भूमिका खेल्न आह्वान गरिएको छ। स्वस्थ माटोका लागि हरेक नागरिकको भूमिका महत्त्वपूर्ण रहेको विभागले उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस्