जलविद्युत आयोजनाहरुमा निजी क्षेत्रको स्वामित्व बढाउनुपर्नेमा सांसदहरुको जोड


काठमाडाैँ । जलविद्युत आयोजनाहरुमा निजी क्षेत्रको स्वामित्व बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । शुक्रवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथिको छलफलमा सांसदहरुले जलविद्युत परियोजनामा निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा नेकपा एमालेका सांसद महेश बर्तौलाले नेपालका जलविद्युत आयोजनाहरुमा कम्तिमा पनि ४९ प्रतिशत शेयर विदेश वा स्वदेशमा भएका नेपाली नागरिकको रहने व्यवस्था गर्नुपर्ने बताए । निजी क्षेत्रलाई जलविद्युत आयोजनाहरुमा समेट्न सकेको अवस्थामा जनताको सहज पहुँच हुने उनको विश्वास छ ।

लघु तथा समुदायस्तरबाट सञ्चालित जलविद्युतहरुलाई निरुत्साहित दिशामा अगाडि बढ्न नहुने उनकाे भनाइ छ । उनले मुलुकको विकास र समृद्धिमा निजी क्षेत्रको सहभागितालाई अस्वीकार गर्न नमिल्ने बताए ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सुमना श्रेष्ठले नेपालले बनाउने हरेक जलविद्युत परियोजनाहरुमा नेपाली नागरिकको सहभागिता बढाउनु जरुरी रहेको बताइन् । निर्माणाधिन जलविद्युत परियोजनाहरुमा काम गर्ने एक जना पनि नेपाली नभएको भन्दै उनले असन्तुष्टि जनाइन् । उनले अगामि दिनमा पढ्दै सिक्दैको अवधारणा लागु हुने गर नेपाली नागरिकको सहभागितालाई बढाउनेगरि ऐन निर्माण गर्नुपर्ने बताइन् ।

बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालकाे भने फरक मत छ । उनले विद्युत उत्पादनमा निजी क्षेत्रले नभई सरकारले ८० प्रतिशत सेयर स्वामित्व लिनुपर्ने बताए । निजी क्षेत्रलाई ८० प्रतिशत सेयर स्वामित्व दिएको अवस्थामा परियोजनाहरु समाजवाद उन्मुख नहुने उनकाे भनाइ छ ।

समितिले विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरुसँग छलफल गरिरहेको छ । संसदको हिउँदे अधिवेशनमा उक्त विधेयकलाई संसदमा पेस गर्नेगरी समितिले छलफल अगाडि बढाएको छ । —न्युज एजेन्सी नेपाल