काठमाडाैँ । सरकारले हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ ।
जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका हिमनदी तिब्र गतिमा पग्लिँदै गएर हिमतालहरू अस्थिर बन्दै गएपछि नेपालले उच्च जोखिममा रहेका चार हिमतालको जोखिम न्युनिकरण गर्न करिव ७ अर्ब रुपैयाँ बराबरको ‘सञ्जीवनी’ परियोजना कार्यान्वयनमा ल्याउन लागेको हो ।
हिमताल विस्फोटबाट आउने बाढी (ग्लेसियल लेक आउटबस्र्ट फ्लड–ग्लोफ) तथा जलवायु परिवर्तनजन्य बाढीबाट जोखिममा रहेका समुदाय, उनीहरूको जीविकोपार्जन र सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले जानकारी दिए ।
परियोजनाले चार वटा हिमतालको सतह घटाउने लक्ष्य राखेको छ । सोलुखुम्बुका होङ्गु–२ र लुम्दिङ छोल, सङ्खुवासभाको तल्लो बरुण तथा मनाङको ठुलागी हिमतालको सतह घटाउने परियोजनाको लक्ष्य रहेको बरालले बताए ।
उनकाअनुसार परियोजनाले हिमतालको पानीको सतह घटाउने, निगरानी तथा पूर्वसूचना प्रणाली विकास गर्ने र तल्लो तटीय क्षेत्रमा संरक्षणका कार्यक्रम सञ्चालन गर्नेछ ।
प्रारम्भिक डिजाइनअनुसार होङ्गु–२ को पानीको सतह एक मिटर र बाँकी तीन हिमतालको तीन–तीन मिटर घटाउने उनले जानकारी दिए । पछिल्लो समय हिमालयको क्रायोस्फियर तीब्र गतिमा परिवर्तन भइरहेकोले हिमताल विस्फोट तथा हिउँपहिरोजस्ता विपद्को जोखिम बढाएको उनले बताए । उनका अनुसार अब हिमतालको जोखिम न्यूनीकरणमा सरकारले तत्कालै काम गर्न आवश्यक छ ।
उनकाअनुसार हिन्दुकुश हिमालय क्षेत्रमा सन् २०११ देखि २०२० सम्मको दशकमा हिमनदी पग्लिने दर अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले बढेको छ ।
मनाङको ठुलागी हिमनदी मात्रै प्रतिवर्ष करिव ३० मिटर पछाडि हटिरहेको उनको भनाइ छ । सन् १९८७ देखि २०१७ सम्मको ३० वर्षमा हिमनदीजन्य तालहरूको समग्र क्षेत्रफलमा करिब २३ प्रतिशतले कमी आएको तथ्यांक प्रस्तुत गर्दै उनले हिमनदीको पछाडि हट्ने क्रम र हिमतालको विस्तारले थप जोखिम बढाएको बताए ।
पछिल्ला छ दशकमा नेपाल र आसपासका क्षेत्रमा ३० भन्दा बढी हिमताल विस्फोटका घटना अभिलेख भएका छन् । नेपालभित्र करिब १५ वटा, तिब्बततर्फ ११ वटा र अन्य क्षेत्रमा समेत यस्ता घटना भएको उनले जानकारी दिए ।
सन् २०१६ को भोटेकोशी हिमताल विस्फोटको उदाहरण दिँदै उनले करिब ०.०१७ वर्ग किलोमिटर क्षेत्रफलको हिमताल विस्फोट हुँदा करिव ११२ मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको उल्लेख गरे ।
उनका अनुसार सन् २०२० मा यूएनडीपी र इसिमोडले गरेको अध्ययनले नेपालमा क्षति पु¥याउन सक्ने ४७ वटा उच्च जोखिमयुक्त हिमताल पहिचान गरेको थियो । तीमध्ये २१ वटा नेपालतर्फ, २५ वटा चीनको तिब्बततर्फ र एउटा भारततर्फ रहेका छन् ।
तीमध्ये ४२ वटा कोशी बेसिनमा केन्द्रित छन् भने नौवटा दूधकोशी बेसिनमा छन् । ठूलो आकारका हिमताल विस्फोट भएमा त्यसले निम्त्याउन सक्ने क्षति सोचेभन्दा भयानक हुने उनको भनाइ छ ।
सोही कारण विपद् हुनुअगाडी नै हिमताल जोखिम न्युनिकरण गर्नको लागि सरकारले ‘सञ्जीवनी’ परियोजना अगाडी बढाएको उनले बताए ।
परियोजनाका लागि ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) बाट ३६.१६ मिलियन अमेरिकी डलर अनुदान प्राप्त भएको छ । नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहवित्तीय योगदान १३.७८ मिलियन अमेरिकी डलर रहनेछ ।
यसरी परियोजनाको कुल लागत करिब ५० मिलियन अमेरिकी डलर रहेको उनले जानकारी दिए । परियोजनाको अवधि सात वर्षको रहेको छ । हिमाली क्षेत्रमा काम गर्न अनुकूल मौसमको समय सिमित हुने र भौगोलिक तथा प्राविधिक चुनौती रहने भएकाले कार्यान्वयन अवधि लामो राखिएको उनले बताए ।
परियोजनाले करिब २४ चार लाख मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभ पु¥याउने उनको भनाइ छ । परियोजनाको सातवर्षे अवधि सकिएपछि थप सात वर्षसम्म सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी नेपाल सरकारले लिनेछ ।
उनले भने, “हामीले लामो समय सन् २००० मा छोरोल्पा र २०१६ मा झण्डै १६ वर्षको डिफरेन्समा इमजालाई अलिकति जोखिमको न्यूनीकरण ग¥यौँ र हामीले पछिल्लो चरणमा यो चार वटा तालहरूको जोखिम न्यूनीकरण र त्यसको पूर्वतयारी लगायतका कार्यहरू गर्नको लागि जिसीएफ ग्रिन क्लाइमेट फण्डको ग्रान्ट र नेपाल सरकारको लगानीमा परियोजना सञ्चालन गर्न लागेका छौँ । ३६.१६ मिलियन डलर हामीले ग्रान्ट जिसिएफ ग्रान्टको रूपमा प्राप्त गरेका छौँ, त्यसदेखि बाहेक नेपाल सरकारको को–फाइनान्सिङ र युएनडिपीको पनि केही को–फाइनान्सिङ गरेर १३.७८ मिलियन डलर गरेर लगभग ५० मिलियन डलरको यो प्रोजेक्ट डिजाइन गरेका छौँ । यसको ओभरल अवधि ७ वर्ष राखिएको छ । यो ७ वर्ष पछाडिको थप ७ वर्षको अपरेसनल मेन्टेनेन्सको जिम्मा नेपाल सरकारले गर्नेछ ।”
जलवायु परिवर्तनको प्रभाव हिमताल विस्फोटका साथै कृषि, पर्यटन, जैविक विविधता, स्वास्थ्य र जलस्रोतमा समेत देखिन थालेको उनको भनाइ छ ।
तराईमा खडेरी र बाढीका घटना, हिमाली क्षेत्रमा हिउँपहिरो तथा हिमतालजन्य विपद् र खराब मौसमका कारण पर्यटन गतिविधिमा समेत असर परेको उनले बताए ।
नेपालको कमजोर भूगर्भीय संरचना, भूकम्पीय गतिविधि, नदी करिडोरमा बढ्दो आर्थिक गतिविधि तथा जोखिमसम्बन्धी सूचनाको अभावले विपद्को जोखिम थप बढाएको उनको भनाइ छ ।
स्थानीय र प्रदेश सरकारलाई निर्णय प्रक्रियामा सहभागी गराउन माग
कोशी प्रदेश सरकारका सचिव इन्द्रप्रसाद सापकोटाले परियोजनामा प्रदेश र स्थानीय सरकारलाई पनि सहभागी गराउनुपर्ने बताए । परियोजनाले कोशी बेसिनलाई प्राथमिकतामा राखेकोमा खुशी व्यक्त गर्दै आफूहरु पनि विपद् न्युनिकरणमा संघीय सरकारसँग हातेमालो गर्न तयार रहेको उनकाे भनाइ छ ।
जलवायु जोखिमसँग प्रत्यक्ष जोडिएका विपद् व्यवस्थापन, उद्धार तथा प्रभावित समुदायसँगको समन्वयमा स्थानीय र प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।
उनले प्रदेश सरकारले पहिचान गरेका जलवायु परिवर्तन, विपद् तथा हिमताल विस्फोटसम्बन्धी १० वटा प्राथमिकताका कार्यक्रमलाई पनि परियोजनामा समेट्न आग्रह गरे ।
उनले विपद् न्युनिकरण लागी उपलब्ध बजेट स्थानीय तहसम्म पु¥याएर प्रभावकारी रूपमा खर्च गर्नुपर्नेमा जोड दिए । कतिपय खरिद प्रक्रियासँग सम्बन्धित नीतिगत अवरोधले खर्च गर्न समस्या भईरहेको उनको भनाइ छ ।
जोखिमयुक्त हिमताल व्यवस्थापन गर्न दशकौँ लाग्न सक्छः सिंह
जल तथा ऊर्जा आयोगका सचिव नवीनराज सिंहले नेपालमा हिमताल विस्फोटको जोखिम न्युनिकरणको गति बढाउनुपर्नेमा जोड दिए । उनका अनुसार हालको कार्यशैली र लगानीको गति कायम रहेमा बाँकी जोखिमयुक्त हिमताल व्यवस्थापन गर्न दशकौँ लाग्नसक्छ । चार वटा हिमताल व्यवस्थापन गर्न १० वर्ष लगाएर नहुने उनको भनाइ छ ।
उनले भने, “चारवटा हिमताल व्यवस्थापन गर्न अहिले सातदेखि १० वर्षको समय लाग्ने हो भने बाँकी १५ वटा व्यवस्थापन गर्न कम्तीमा ३०–४० वर्ष लाग्न सक्छ । त्यसैले सबै विकास साझेदार मिलेर आगामी सातदेखि १० वर्षभित्र जोखिमयुक्त हिमताल व्यवस्थापनको काम सम्पन्न गर्ने गरी अघि बढ्नुपर्छ ।”
उनले जलवायुजन्य विपद् व्यवस्थापनमा जलविद्युत विकासकर्तालाई समेत सहभागी गराउनुपर्ने बताए । नदी करिडोरमा रहेका जलविद्युत आयोजनासँग निगरानी केन्द्र, सञ्चार प्रणाली र प्रभावित समुदायसम्बन्धी तथ्यांक रहेकाले ती स्रोतलाई पूर्वसूचना प्रणालीमा उपयोग गर्न सकिने उनको भनाइ थियो ।
जलविद्युत कम्पनीसँग सहकार्य गरेर नदी करिडोरमा निगरानी केन्द्र विस्तार गर्ने तथा प्रभावित समुदायसम्म सूचना पु¥याउने संयन्त्र विकास गर्न सकिने उनको सुझाव छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलाई जलस्रोत, विपद् तथा जलवायु उत्थानशीलतासम्बन्धी उत्कृष्टता केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए ।
परियोजनाको चारवटा हिमतालको जोखिम घटाउनुमा मात्र सिमित हुनु हुँदैनः डा. फकरुद्दिन
ग्रीन क्लाइमेट फण्ड सचिवालयका प्रतिनिधि डा. वाफोन फकरुद्दिनले परियोजना चारवटा हिमतालको जोखिम घटाउनमा मात्रै सिमित हुन नहुने बताए ।
नेपालमा पहिचान भएका अन्य २१ जोखिमयुक्त हिमतालमध्ये हाल परियोजनाले नसमेटेका १७ वटा क्षेत्रमा पनि लगानी विस्तार गर्ने आधार तयार गर्नुपर्नेमा जोड दिए ।
यसका लागि वैज्ञानिक अध्ययन, प्रमाणमा आधारित योजना, विकास वित्तीय संस्थासँगको साझेदारी र थप वित्तीय स्रोत परिचालन आवश्यक रहेको उनको भनाइ छ ।
उनले जलवायु वित्त परिचालनका लागि राष्ट्रिय स्तरमा प्रभावकारी समन्वय मञ्च निर्माण गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय वित्तीय सहयोग, सरकारी बजेट विनियोजन र स्थानीय जोखिममा रहेका समुदायसम्म स्रोत पु¥याउने प्रणाली विकास गर्नुपर्ने उनले बताए ।
उनले हिमनदी तथा हिमतालजन्य विपद् व्यवस्थापनमा नेपालले भोगेका अनुभवलाई क्षेत्रीय स्तरमा आदानप्रदान गर्नुपर्नेमा पनि जोड दिए । हिन्दुकुश हिमालय क्षेत्रमा नेपालसँगै छिमेकी मुलुक पनि समान प्रकृतिका जोखिममा रहेकाले सीमापार सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
उनले परियोजनाबाट प्राप्त अनुभवलाई मध्य एशिया, ल्याटिन अमेरिका र अन्य हिमनदीजन्य जोखिम भएका क्षेत्रमा समेत विस्तार गर्न सकिने बताए । परियोजनालाई तत्काल कार्यान्वयनमा लैजान जोड दिए । परियोजनाको पहिलो किस्ताको रकम यूएनडीपीमा निकासा भइसकेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्