काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघले आगामी पुस २७ गते राजधानीमा ‘राष्ट्रिय भेला-२०८१’ आयोजना गर्ने घोषणा गरेको छ। महासंघले आज पत्रकार सम्मेलन गर्दै निर्माण उद्योगको विकट स्थितिको समाधानको लागि राष्ट्रिय भेला गर्न लागेकाे जनाएकाे छ ।
निर्माण व्यवसायीहरूले विगतका आर्थिक वर्षहरूमा पाउने भुक्तानीको ठूलो रकम अझै बाँकी रहेको र त्यसका कारण निर्माण उद्योगमा गम्भीर संकट उत्पन्न भएकाले समस्या समाधानका उपाय खोज्न उक्त भेला गर्न लगाएको जनाएको छ। महासंघका महासचिव रोशन दाहालका अनुसार सरकारले बारम्बार भुक्तानीको आश्वासन दिए पनि अझै पनि सुनुवाइ भएको छैन ।
निर्माण सामग्रीको मूल्यवृद्धि हुनु, कर्जामा कटौती हुनु र सार्वजनिक खरिद नियमावलीमा भएको म्याद थपजस्ता समस्याहरूले निर्माण उद्योगलाई अत्यन्त संकटमा धकेलेकाे दाहालकाे भनाइ छ ।
उनले भने, “निर्माण उद्योग अब ‘कोमा’ स्थितिमा पुगेको छ। प्रशासनको लाचारी र निर्माण सामग्रीको मूल्यवृद्धि जस्ता समस्याले यो उद्योगलाई गम्भीर अवस्था पुगेको छ।”
महासंघले समस्याको समाधानका लागि प्रधानमन्त्री, उपप्रधानमन्त्री र अन्य सरोकारवालासँग बारम्बार भेटघाट गरेको भए पनि ठोस समाधान नआएको उल्लेख गरेकाे छ। महासंघले ‘राष्ट्रिय भेला’ को म्यान्डेटअनुसार चरणबद्ध आन्दोलन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। यो भेलामा देशभरका निर्माण व्यवसायीहरूको प्रतिनिधित्व रहने महासंघले जनाएकाे छ ।


 
                            

                    
प्रतिक्रिया दिनुहोस्