काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताएका छन् ।
आइतवार विश्व भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार सरकारहरूको सूचिमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताएका हुन् । उनले सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै सरकारले आफ्नो अभिभारा पूरा गर्ने बताए ।
उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरुलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरू सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए । उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरु अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने बताए । निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको बताए ।
“अहिलेको सरकार सरकारहरुको सूचिमा अर्को एक थान सरकार मात्रै होइन, सरकार मुलुकमा चाहिन्छ, त्यस कारणले यो सरकार छ भन्नका लागि मात्रै होइन । यो सरकार विशेष परिस्थितिमा बनेको छ, विशेष अभिभारा पूरा गर्नका लागि बनेको छ । यो सरकारले जुन अभिभारा आफ्नो काँधमा लिएको छ । त्यसबाट पछि छुट्ने छुट यो सरकारलाई छैन । समस्त निजामति प्रशासन, भन्सार प्रशासन पनि सरकारको एउटा महत्वपूर्ण अंग हो । त्यसकारण यहाँहरुले आफ्नो जिम्मेवारीलाई महत्वका साथ पूरा गर्नुस् । अहिले निजी क्षेत्रका साथीहरुले सरकारले अघि सारेका अध्यादेशलाई बढो प्रशंसा गरिरहनुभएको छ ।”
उपप्रधानमन्त्री पौडेलले राजश्व संकलनमा सहयोगी भुमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गरे । राजश्व चुहावट, अनियमितताका प्रवृत्तिहरुलाई निरुत्साहीत गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरुलाई निर्देशित गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्