काठमाडौं । काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले आफ्नो वार्षिक प्रतिभा प्रस्फुटन कार्यक्रम मिस्टर एन्ड मिस गेट २०२५ भव्यताका साथ सम्पन्न गरेको छ। आतिथ्य सत्कारमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित यो कार्यक्रमले विद्यार्थीहरुको व्यक्तित्व विकासमा समेत टेवा पुर्याउने कलेजको भनाइ छ ।
कार्यक्रममा ब्याच ३३ र ३४ का विद्यार्थीहरुले विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। मिस्टर गेटको उपाधि ब्याच ३३ बाट सचित अधिकारी र ब्याच ३४ बाट निश्चित बुढाथोकीले जितेका छन्। मिस गेटको उपाधि निशा श्रेष्ठ (ब्याच ३३) र दृष्टि शर्मा (ब्याच ३४) ले हात पारेका छन्।
यसैगरि गेट पर्सनालिटीको उपाधि सुशान्त श्रेष्ठ (ब्याच ३३) र श्रेया शाही (ब्याच ३४) ले जिते भने गेट फेसन आइकनको उपाधि कृपा सिंह (ब्याच ३३), अभि श्रेष्ठ (ब्याच ३३), रुस्तम रुम्बा (ब्याच ३४) र आस्था श्रेष्ठ (ब्याच ३४) ले जिते ।
विजेताहरुलाई कलेजका गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेम लकाईँ, प्रमुख सञ्चालन अधिकृत इन्द्रर खड्का, डिन डा. जीवकराज बज्राचार्यलगायत अन्य विशिष्ट व्यक्तिहरुले पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायत विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रममा गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेम लकाईँले हालै स्विजरल्याण्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा विश्वभरिका प्रमुख आर्थिक क्षेत्रका विषयहरूमाथि भएका छलफलको उदाहरण पेश गर्दै आथित्य सत्कार उद्योगको विश्वव्यापी आधार नै मानवीय मूल्यमान्यता भएकाले यसलाई आफ्नो मूल मन्त्र बनाउनु पर्नेमा जोड दिए।
सन् २००७मा स्थापित गेट कलेजले स्विस सम्बन्धन तथा मान्यतामा आधारित हस्पिटालिटी म्यानेजमेन्टको स्नातक तह तथा काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा बीएचआईए तहको शिक्षा प्रदान गर्दै आएको छ । सो कलेजमा नेपालबाहेक विभिन्न २२ देशका विद्यार्थीहरूले आतिथ्य सत्कार तथा होटल व्यवस्थापनका शिक्षा लिँदै आएको कलेजले बताएको छ । सो कलेजबाट हालसम्म करिब २ हजारभन्दा अधिक विद्यार्थीहरू दीक्षित हुँदै आएका छन् भने अल्पकालीक तथा आवधिक आतिथ्य सत्कार तथा होटल व्यवस्थापनका विभिन्न प्रशिक्षणबाट हजारौं संख्यामा विद्यार्थीहरू लाभान्वित भइसकेको कलेजले जानकारी दिएको छ ।
गेट कलेजले हरेक वर्ष आयोजना गर्ने मिस्टर एन्ड मिस गेट कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो प्रतिभा देखाउने एउटा महत्वपूर्ण अवसर प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्