पाथीभरा ‘नो केबलकार समूह’को अन्तराष्ट्रिय जुम बैठक : संघर्षलाई थप सशक्त बनाउने


काठमाडौं । केबलकार निर्माणमा अवरोध गर्दै आएको आन्दोलरत पक्षले संघर्षलाई थप अगाडि बढाउने निर्णय गरेको छ ।

मुक्कुमलुङ संयुक्त संघर्ष समिति,मुक्कुमलुङ ताङसेप चुम्भो, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति र मुक्कुमलुङ संरक्षण अन्तरदेशीय संघर्ष समितिको संयुक्त अन्तराष्ट्रिय जुम बैठकले आन्दोलनलाई थप व्यवस्थित बनाएर लैजाने निर्णय गरेको हो ।

आन्दोलनका पक्षमा रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा छरिएर रहेका नेपालीलाई सहयोगको लागि आग्रह गर्ने निर्णय समेत गरेको छ ।

संघीय सरकारले केबलकार निर्माण गर्दा प्रकृया मिचेको,मुक्कुमलुङमा केबुलकार निर्माणको विषयमा स्थानीयस्तरमा सर्बपक्षीय छलफल नभएको संघर्षरत पक्षको आरोप छ ।

खासगरी लिम्बू समुदायको मुन्धुमविद, सँस्कृतिविदसँग छलफल नगरिएको भनिएको छ ।

वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन सार्वजनिक नगरिएको, स्थानीय आदिवासीहरूसँग छलफल नगरेर सरकारले निर्माण अनुमति दिएकोले सरकारले नै अनुमति रद्ध वा खारेज गर्नुपर्ने जुम बैठकले निष्कर्ष निकालेको छ ।

केबलकार निर्माणको सम्पूर्ण जिम्मेवार सरकार भएको भन्दै सरकारसँग मन्त्रीस्तरीय वार्ता गर्नुपर्ने निष्कर्ष निकालिएको मुक्कुमलुङ संयुक्त संघर्ष समितिले जनाएको छ ।

केबलकार निर्माण अगाडि बढाए नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र उनी संलग्न आइएमई ग्रुप, डिस होमलगायतका संस्थामा समेत संघर्ष थप बढाउने बैठकले निर्णय गरेकाे समितिले जनाएको छ ।