काठमाडौँ । प्रधानमन्त्रीका आर्थिक एवं विकास सल्लाहकार युवराज खतिवडाले निजी क्षेत्रको प्रवर्द्धन गर्दै रोजगार सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनले नेपाल विकासशील मुलुकबाट विकसित मुलुकमा नपुग्दै बुढ्यौलीमै जनसंख्या पुग्ने खतरा रहेको भन्दै हालको जनसांख्यिक अवसरको सही उपयोग गर्न आग्रह गरे।
काठमाडौंमा आयोजित ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१’ मा बोल्दै सल्लाहकार खतिवडाले भने, ‘‘अन्य मुलुकहरूमा जब जनसंख्या बुढ्यौलीमा पुग्छ, तब ती मुलुकहरू विकासित भइसकेका हुन्छन्। तर, नेपालमा जनसंख्या बुढ्यौलीमा पुग्दा देश अझै विकासशील मुलुकमै रहने खतरा छ। त्यसैले अहिलेको जनसांख्यिक अवसरलाई प्रभावकारी रूपमा उपयोग गर्नु जरुरी छ।’’
उनले निजी क्षेत्रले रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सरकारले त्यसका लागि आवश्यक प्रोत्साहन र सहुलियत नीति बनाउनु पर्ने बताए। ‘‘रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई प्रेरित गर्न नीति तथा कार्यक्रम प्रभावकारी बनाउनुपर्छ,’’ उनले थपे।
नेपालको श्रम बजार, रोजगारका अवसर तथा निजी क्षेत्रको भूमिकाका विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका श्रम तथा रोजगार विज्ञ, नीति निर्माताहरू तथा उद्योग प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्