काठमाडौँ । टेस्लाले अमेरिकामा बिक्री भैसकेका आफ्ना ४६ हजार विद्युतीय गाडी फिर्ता बोलाएको छ । कम्पनीका अनुसार साइबर ट्रकको एक्सटेरियर वा बाहिरी भागको एक हिस्सा चलाउँदा चलाउँदै छुट्टिन सक्ने समस्या देखिएपछि गाडी फिर्ता बोलाएको हो ।
टेस्लाले बिहीबार अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनमा दर्ता गरेको फाइलिङअनुसार २०२३ को नोभेम्बरदेखि २०२४ को फेब्रुअरी २७ भित्र निर्माण गरिएका ४६ हजारभन्दा बढी साइबरट्रकहरू रिकल गरिनेछ। यो वर्ष मात्रै साइबरट्रकका लागि गरिएको यो आठौं पटकको रिकल हो।
टेस्लाले साइबरट्रकको बिक्री विवरण सार्वजनिक नगरे पनि बजार विश्लेषकहरूको अनुमान अनुसार फिर्ता बोलाइएका गाडीहरू बजारमा रहेका कुल साइबरट्रकको ठूलो हिस्सा हो। टेस्लाले हालसम्म यस समस्यासँग सम्बन्धित १५१ वटा ग्यारेन्टी दाबीहरू प्राप्त गरेको भए पनि कुनै दुर्घटना वा घाइते हुने घटना नभएको जनाएको छ।
विश्लेषकहरूका अनुसार टेस्लाको सेयर मूल्य यस वर्ष करिब ५० प्रतिशतले घटिसकेको छ। इलेक्ट्रिक भेहिकल बजारमा बढ्दो प्रतिस्पर्धा, टेस्लाका मोडलहरूको पुरानो डिजाइन, र सीईओ एलन मस्कको विवादास्पद भूमिकाका कारण कम्पनी थप दबाबमा परेको छ।
टेस्लाका अन्य गाडीहरूसँग तुलना गर्दा साइबरट्रकको बिक्री निकै कम छ। २०२४ मा टेस्लाले १७.९ लाख गाडी बिक्री गरेको थियो जसमा साइबरट्रकको योगदान निकै न्यून रह्यो।
सन् २०२४ मा टेस्ला अमेरिकाभरि सबैभन्दा धेरै रिकल गर्ने कम्पनीमध्ये पहिलो स्थानमा रहेको छ। कार रिकल व्यवस्थापन संस्था बिज्जीकारका अनुसार टेस्लाका गाडीहरूमाथि मात्र ५१ लाख पटक रिकल गरिएको छ।
प्रतिक्रिया दिनुहोस्