कृषि औजार कारखानाको अध्ययन गर्न महाबीर पुनलाई अर्थमन्त्रीको आग्रह


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना संचालनका लागि राष्ट्रिय आविस्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गरेका हुन् ।

सरकारले कृषि औजार कारखानालाई संचालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई संचालन गर्न आवश्यक रहेको अर्थमन्त्री शर्माले बताए।

कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै संचालनमा ल्याउने गर्ने र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविस्कार केन्द्रको रुपमा पनि विकास गर्ने सरकारको लक्ष्य रहेको छ उनले भने।

केन्द्रका अध्यक्ष महाबीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरुको आविस्कार गर्ने बताएका छन् । कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविस्कार केन्द्र समेत बनाउने अर्थ मन्त्रीको योजना प्रति आफ्नो समर्थन रहेको बताए । कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाइ आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाइ आवश्यक पर्ने औजारहरु समेत निर्माण गर्न सकिने पुनले बताएका छन् ।

कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत संचालन हुने गरि आधुनिकीकरण समेत गर्न सकिने आविस्कार केन्द्रका अध्यक्ष पुनले बताए । अर्थमन्त्री शर्माले राष्ट्रिय आविस्कार केन्द्रको अध्ययनको सुझाव अनुसार सरकारले छिट्टै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताएका छन्।