काठमाडाैँ । दक्षिण कोरियाली अटोमोबाइल निर्माता हुन्डाई र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा २० अर्ब डलरको लगानी गर्ने घोषणा गरेका छन्। यस योजनामा लुइजियानामा ५ अर्ब डलरको स्टिल उद्योग स्थापना गर्ने योजना समेत रहेको छ।
हुन्डाईले स्थापना गर्न लागेको ५.८ अर्ब डलरको लुइजियानास्थित उद्योग अमेरिका भित्र पहिलो स्टिल उत्पादन केन्द्र हुनेछ। उक्त उद्योगले वार्षिक २.७ मिलियन मेट्रिक टन स्टिल उत्पादन गर्नेछ र १ हजार ४०० भन्दा बढी रोजगारी सिर्जना गर्नेछ। यस उद्योगबाट अलाबामा र जर्जियास्थित हुन्डाई अटो प्लान्टहरूलाई स्टिल आपूर्ति गरिनेछ।
गत सोमबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्प, हुन्डाईका अध्यक्ष इयुसुन चुंग र लुइजियानाका गभर्नर जेफ ल्याण्ड्री उपस्थित थिए।
हुन्डाईका अध्यक्ष चुंगले यसलाई कम्पनीको सबैभन्दा ठूलो अमेरिकी लगानीको रूपमा व्याख्या गरे। उनले यो परियोजना २०१९ मा सिओलमा राष्ट्रपति ट्रम्पसँग भएको भेटपछि अघि बढाइएको बताए। राष्ट्रपति ट्रम्पले कर तथा शुल्क (ट्यारिफ) लगाउने आफ्नो नीतिलाई सफल भएको दाबी गर्दै यो लगानी त्यसको प्रत्यक्ष प्रमाण भएको बताए। ट्रम्प प्रशासनले स्टिल र एल्युमिनियम आयातमा २५ प्रतिशत कर लगाइसकेको छ भने एसिया र युरोपबाट आउने कारहरूमा थप कर लगाउने योजना सार्वजनिक गरेको छ।
यसैबिच अमेरिकामा अन्य कम्पनीहरूले पनि ठूला लगानी योजना घोषणा गरेका छन्। ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी र जापानी प्रविधि कम्पनी सफ्टब्याङ्कले अमेरिकामा ठूलो मात्रामा लगानी गर्ने योजनामा छन्।
गत महिना एप्पलले पनि आगामी चार वर्षमा ५०० अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो। यो लगानी चीनबाट आयात हुने सामानमा सम्भावित नयाँ करहरू छल्न गरिएको कदमको रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्