नेपाल आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बिमा कार्यक्रममा अनिवार्य आवद्ध हुने व्यवस्था गर्दै बोर्ड


काठमाडाैँ । स्वास्थ्य बिमा बोर्डले वित्तीय जोखिक कम गर्न नेपाल आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बिमामा अनिवार्य आवद्ध हुने व्यवस्था गर्ने भएको छ ।

आइतवारको बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले सबै तहका जनप्रतिनिधि, कर्मचारी, वैदेशिक रोजगारीमा जाने श्रमिक, आम नागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बिमामा अनिवार्य आवद्ध हुने व्यवस्था मिलाइने बताए ।

यसले ‘युनिभर्सल हेल्थ कभरेज’ भन्ने सरकारको नाराले पूर्णता पाउनुका साथै स्वास्थ्य बीमा बोर्डको वित्तीय जोखिम कम गर्न कोशेढुङ्गा सावित विश्वास व्यक्त गरे । उनले छरिएर रहेका स्वास्थ्य सहायता तथा अनुदानका कार्यक्रमहरु समेत एकीकरण गर्दै लैजाने बताए। स्थानीय तहहरूले दिँदै आएको उपचार सहायता तथा स्वास्थ्य सेवाका कार्यक्रमहरुलाई समेत बोर्डअन्तर्गत ल्याइने उनको भनाइ छ । 

सबै तहका स्वास्थ्य अनुदानका सेवाहरू एकीकरण गर्न बोर्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबिच कुरा अगाडि बढाइसकिएको समेत कार्यकारी निर्देशक काफ्लेले बताए ।