देशको नेतृत्व गर्नेहरू विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोइराला


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरू विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन् ।

आइतवार काठमाडौंमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सांसद कोईरालाले नेतृत्व तह नै विचौलियाहरूसँग मिल्दा देश विकासमा समस्या आइरहेको जिकिर गरे । उनले नेपाललाई समृद्ध बनाउन र नेपालमै गर्न सकिने भन्दै त्यसको लागि विचौलियाहरूबाट सचेत र शतर्क रहन जरुरी रहेको बताए ।

त्रिभूवन विश्वविद्यालयको उपकुलपतिबाट केशरजंग बरालले केही दिनअघि दिनुभएको राजीनामाको बारेमा प्रसंग निकाल्दै उनले विचौलियाकै कारण काम गर्न नसकेर राजीनामा दिनुपरेको बताए ।सांसद कोईरालाले संविधानमा सुधार गर्न जरुरी रहेको बताए ।

उनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदाताका नै संविधानमा सुधार गर्नेकुरा उल्लेख गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेपछि संसदको रोष्ट्रममा उभिएर संविधान संशोधनको कुरा गर्नुभएको स्मरण गराउँदै आवश्यक परिवर्तन जरुरी रहेको बताए । काँग्रेस—एमालेको सरकार बनेको ९ महिना बितिसक्दासमेत संविधान संशोधनतर्फ केन्द्रित नहुनु दुःखद् भएको बताए ।

देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि अध्यादेशमार्फत ऐन ल्याएको र सुधार हुने आशा रहेको बताए । राष्ट्र बैंकको गभर्नर बनाउन पनि विचौलियाहरु चलखेल गर्दैछन् भन्नेकुरा आइरहेको भन्दै त्यस्तो भएको हो भने देशकै लागि दुर्भाग्य हुने बताए ।

सांसद कोईरालाले हाइड्रोपावर, कृषि, ग्रिन इण्डस्ट्रीलाइजेसन, डिजिटलाइजेसन क्षेत्रमा बढी जोड दिनसके नेपाल समृद्ध बन्ने बताए । उनले सबै प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउन नसकिरहेको उल्लेख गरे ।