मन्त्री पौडेलले भनेः संघीयता बोझिलो र खर्चिलो भयो


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीयता बोझिलो र खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताएका छन् ।

नेपाली काँग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको नव वर्ष २०८२ सालको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै मन्त्री पौडेलले संघीयता राज्यको क्षमताभन्दा बढी बोझिलो र खर्चिलो भएको संघीयताको पुनरावलोकन गर्न जरुरी रहेको बताएका हुन् । उनले डिजिटल करेन्सी प्रयोग गर्ने स्थिति नभएसम्म मुलुकमा पारदर्शिता कायम नहने भन्दै नेपाललाई डिजिटलाइजेसनमा लैजानुपर्ने आवश्यकता रहेको समेत बताए ।

उनले खर्चिलो र बोझिलो भएको संघीयतालाई छरितो बनाउन सांसद, मन्त्रिमण्डल, प्रदेश र स्थानीय तहहरुको संख्या समेत घटाउनुपर्ने बताए । सांसदको संख्या २७५ बाट २०१ मा झार्न प्रश्ताव गर्नुभयो । त्यस्तै केन्द्रिय मन्त्रिमण्डल २५ बाट १५ मा झानुपर्ने उनको भनाइ छ ।

प्रदेश संख्या एक तिहाई घटाउँदै मुख्यमन्त्री, एउटा वित्त मन्त्री र एउटा प्रशानमन्त्री मात्र राख्नुपर्ने बताए । राजनीतिक संरचना छरितो भएमात्र प्रशासनिक संरचनाहरु छरितो हुने बाटो खुल्ने उनको भनाइ छ ।  पाल्पा भ्रमणमा रहेका मन्त्री पौडेलले आइतवारदेखि सुरू भएकाे दोस्रो तानसेन महोत्सव एवं व्यापार मेलाको समेत उद्घाटन गरेका हुन् ।