मापदण्ड विपरीत सञ्चालन भइरहेका सवारी साधन रोक्न गृहमन्त्रालयसँग समन्वय गर्छाैः मन्त्री दाहाल


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मापदण्ड विपरीत सञ्चालन भइरहेका सवारी साधन रोक्न गृहमन्त्रालयसँग समन्वय गरिने बताएका छन्।

सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरूसँगको छलफलका क्रममा मन्त्री दाहालले सडक तथा यातायात विभाग मात्रको प्रयासले नियमविपरीतका सवारी साधन नियन्त्रण सम्भव नभएकाले गृहमन्त्रालयसँग मिलेर कारवाहीअघि बढाइने स्पष्ट पारे।

मन्त्री दाहालले निर्माणस्थलमा सवारी साधनको अवरोध कम गर्न वैकल्पिक रुट तथा डाइभर्सनको प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिइने बताए। काठमाडौँ र पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्गको मर्मतलाई तीव्र बनाइएको उल्लेख गर्दै उनले वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथको मर्मत कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए।

मन्त्रालयका सचिव केशवकुमार शर्माले पनि यातायात सञ्चालनलाई व्यवस्थित गर्न गृह मन्त्रालय, ट्राफिक प्रहरी र संघीय सरकारसँग थप समन्वय गरिने बताएका छन्। दाउन्ने सडक खण्डमा भइरहेको निर्माणका कारण यात्रु तथा सवारी साधनले भोगिरहेका समस्यालाई गम्भीरतापूर्वक लिइएको भन्दै सचिव शर्माले मालवाहक तथा यात्रुवाहक गाडीलाई उपयुक्त समयमा पास दिने व्यवस्था मिलाइएको जानकारी दिए।

उनले उक्त खण्डको निर्माणलाई पहिलो प्राथमिकतामा राखिएकाले चाँडै यातायात सहज हुने विश्वास दिलाए । कार्यक्रममा यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम, विभिन्न मजदुर संगठनका प्रतिनिधि तथा सडक विभागका महानिर्देशक रामहरी पोखरेलसहित उपमहानिर्देशकहरूको पनि उपस्थिति रहेको थियो।