काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरूपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका हुन् ।
आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री ओलीले सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरूप्रति चेम्बरजस्ता संस्थाहरूले घोचे थाप्ने काम नगरी समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरु प्रशंसनीय रहेको बताए ।
“आज हामीलाई सुशासन र विकास चाहिएको छ । सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ । त्यसलाई नियन्त्रण गर्नका लागि तपाईँहरुको पनि सहयोग चाहिन्छ ”, प्रधानमन्त्री ओलीले भने, “देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरु मिलेर सरकार बनेको छ । त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो शिलशीला कायम रहन्छ । त्यसकारण तपाईहरु ढुक्क भएर लगानी गर्नुस् । देशको विकासका योगदान गर्नुस् ।”
चेम्बर, एउटा सरकार र निजी क्षेत्रबीचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई यसले सघाएकामा प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने उद्यमी–व्यवसायीहरुलाई प्रधानमन्त्री ओलीबाट अवार्ड प्रदान गरिएको थियो भने चेम्बरको स्मारिका पनि लोकार्पण भएको थियो ।
प्रतिक्रिया दिनुहोस्