हावाहुरी र असिना वर्षाले दोस्रो तानसेन महोत्सवमा ठुलो क्षति, कार्यक्रम अनिश्चित


काठमाडाैँ । पाल्पा सदरमुकाम तानसेनमा जारी दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ ।

बुधवार रातिको हावाहुरीसहितको वर्षाका कारण महोत्सव प्रभावित बनेको हो । बुधवार कार्यक्रमको तयारी भइरहेको बेला अचानक वर्षा र हावहाहुरी चलेपछि महोत्सवमा भाग दौड मच्चिएको थियो ।

असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका हजारौं बाल बच्चादेखि बुढापाकाबिच भागदौड मच्चिएको थियो । वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगित गरी आज सञ्चालन गर्ने तयारीमा आयोजक थिए ।

बुधवार राति १ बजेबटा चलेको ठ’लो हावाहुरी र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबार लगायत ढलेका छन् ।

जसले गर्दा महोत्सव नै अनिश्चित बनेको छ । महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामान समेत हावाले उडाएको व्यापारीहरूको भनाइ छ । हावाहुरीले करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठुलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गर्ने तयारी आयोजक तानसेन नगरपालिकाले गरेको छ ।

महोत्सव यही चैत २२ गतेदेखि सुरू भई वैशाख ३ गतेसम्मका लागि तय भएको थियो ।