कालिमाटी बजारमा भूटानी कृषि मन्त्रीले गरे अवलाेकन, संयुक्त निर्यातदेखि अर्गानिक प्रवर्धनसम्मका विषयमा छलफल


काठमाडौँ । भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सो आज काठमाडाैँकाे कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गरेका छन्।

नेपालका लागि खाद्य तथा कृषि संगठन (एफएओ) का प्रतिनिधि केन शिमिजु तथा भूटानी प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागितामा गरिएकाे अवलाेकनमा नेपाल–भूटानबिच कृषिमा आपसी सहकार्य र सम्भावनाबारे छलफल भएको छ ।

भ्रमणका क्रममा नेपाल र भूटानले कृषिजन्य उत्पादन संयुक्त रूपमा तेस्रो देशमा निर्यात गर्न सक्ने सम्भावना, अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने उपाय, विषादी परीक्षणलाई अझ प्रभावकारी बनाउने आवश्यकता, र दुई देशबिच सहकार्य गर्दै भविष्यमा कृषि क्षेत्रमा दीर्घकालीन समझदारी कायम गर्ने विषयहरूमा विशेष छलफल भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा.प्रद्युम्नराज पाण्डेले जानकारी दिए।

विशेष गरी भूटानको आलु भारत हुँदै नेपाल आउँदा देखिने समस्या समाधान गर्दै अब त्यो सिधै नेपाल भित्र्याउने उपायका बारेमा पहल गर्नुपर्नेमा दुवै पक्ष सहमत भएको छ। कृषिजन्य उपजको विषादी परीक्षणलाई प्रभावकारी, पारदर्शी र वैज्ञानिक बनाउनेतर्फ समेत ध्यान केन्द्रित गरिएको उनले बताए।

अर्गानिक उत्पादनको प्रवर्द्धन तथा विश्व बजारमा त्यसको स्थान विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। दुवै देशबिच एफएओको प्रतिनिधि एउटै व्यक्ति भएकोले त्यस अवसरको प्रयोग गर्दै कृषिमा आपसी सहकार्य विस्तार गर्न अपिल गरिएको बताइएको छ।

भ्रमणको क्रममा मन्त्री फुन्थ्सोले कालीमाटीका व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको व्यवसायिक अवस्था, बजारको संरचना, सञ्चालन प्रणाली र सम्भावनाका विषयमा जानकारी लिएका थिए। बजार व्यवस्थापन, आपूर्ति शृंखला, मूल्य निर्धारणजस्ता कुरामा पनि चासो उनले चासाे देखाएका थिए ।