तुलनात्मक लाभका वस्तु र प्रतिस्पर्धी क्षमता विस्तारमा जोड दिनु पर्छ: परराष्ट्रमन्त्री राणा


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सिंगो सरकार नै देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको बताएकी छन्।

नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उनले निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र आर्थिक विकास सम्भव हुने धारणा राखेकी हुन् ।

निजी क्षेत्रले लगानी विस्तार नगरे समृद्धिको लक्ष्यमा पुग्न नसकिने बताउँदै उनले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्न विभिन्न नीतिगत तथा कानुनी जटिलता फुकाएको भन्दै निर्धक्क भएर लगानी विस्तार गर्न आग्रह गरिन् ।

उनले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाहरूको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नु पर्ने बताइन् ।

यस्तै मन्त्री राणाले पछिल्लो समय वैदेशिक सहायता केही कमी भएपनि निरुत्साहित नहुन निजी क्षेत्रलाई आग्रह गरिन् ।

सरकार र निजी क्षेत्र मिलेर देशभित्र भएका स्रोत साधनको अधिकतम रुपमा प्रयोग गरि विकासको गति तीव्र बनाउनुपर्नेमा समेत मन्त्री राणाको जोड थियो ।