काठमाडौँ । नर्सरी व्यवसायी संघको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा चार दिनदेखि जारी दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१ आज (आइतबार) अन्तिम दिनमा प्रवेश गरेको छ। ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने मूल नारासहित चैत्र २८ गतेदेखि सुरू भएको मेला आज समापन हुँदैछ।

मेला संयोजक तथा नर्सरी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रविन कुमार गौतमका अनुसार पहिलो दिन ७ हजारले अवलोकन गर्दा १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। दोस्रो दिन १५ हजार अवलोकनकर्तासँगै कारोबार ३० लाख पुगेको थियो भने तेस्रो दिन २० हजारले अवलोकन गर्दा ५० लाख रुपैयाँको कारोबार भएको हो।

आज अन्तिम दिनसम्म मेलामा ४५ हजार अवलोकनकर्ताले भ्रमण गरिसकेका छन्। आयोजकले १ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरेको छ।

मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका सात सयभन्दा बढी प्रजातिका बिरुवाहरू बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन्। साथै मलखाद, अर्ग्यानिक तथा रासायनिक विषादी, बिउ विजन, औजार उपकरण र प्रविधिको पनि छुट्टाछुट्टै स्टल रहेका छन्।

कुल ८६ वटा स्टल मध्ये ७० वटा व्यवसायिक स्टल, ३ वटा फुड स्टल, ८ वटा अफिसियल स्टल र ५ वटा प्रतिस्पर्धात्मक स्टल रहेका छन्। नर्सरी व्यवसायलाई प्रवर्द्धन गर्दै हरित रोजगारी, वातावरण संरक्षण र आत्मनिर्भर कृषिको सन्देश दिन आयोजित यो एक्स्पोले उत्साहजनक जनसहभागिता पाएको आयोजकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्