कृषिमा आत्मनिर्भरता र आधुनिकिकरणको बाटोमा अघि बढ्ने मन्त्री अधिकारीको प्रतिबद्धता


काठमाडाैँ । नयाँ वर्ष २०८२ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले शुभकामना सन्देश जारी गर्दै सरकारको ध्यान कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण र व्यवसायीकरणतर्फ केन्द्रीत हुने स्पष्ट पारेका छन्।

सन्देशमार्फत मन्त्री अधिकारीले कृषक, पशुपालक, अनुसन्धानकर्ता, कर्मचारी तथा आम नागरिकहरूलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रलाई समृद्ध बनाउने सरकारको लक्ष्य दोहोऱ्याएका छन्।

उनले नयाँ वर्षलाई नयाँ सोच, नयाँ सम्भावना र नयाँ जोशका साथ मुलुकलाई शान्ति, समृद्धि र सहकार्यको दिशामा अघि बढाउने अवसरको रूपमा उल्लेख गरेका छन्। कृषिको आधुनिकीकरण, व्यावसायिकरण तथा आत्मनिर्भर प्रणालीलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्दै उनले आत्मनिर्भर कृषि प्रणाली निर्माणमा सबैको विश्वास रहेको बताएका छन्।

मन्त्री अधिकारीका अनुसार राष्ट्रिय नीतिसँग मेल खाने गरी कृषकहरूको जीवनस्तर सुधार, पशुपालन व्यवसायको प्रवर्धन तथा खाद्य सुरक्षाको सुनिश्चितताका लागि मन्त्रालय निरन्तर क्रियाशील रहनेछ। यसका लागि नीति सुधार, प्रविधिको प्रयोग र कार्यक्रम कार्यान्वयनमा थप प्रभावकारिता ल्याउने तयारी भएको उनको भनाइ छ।

उनले आगामी दिनमा कृषिमा गरिएको लगानी र प्रतिबद्धतालाई सार्थक बनाउँदै दीगो समाधानमुखी मार्गमा मन्त्रालय अघि बढ्ने स्पष्ट पारे। साथै, कृषक र समुदायलाई आत्मनिर्भर बनाउने योजनाहरूले देशको समृद्धिमा योगदान पुर्‍याउने विश्वास पनि सन्देशमा व्यक्त गरिएको छ।