काठमाडौँ । खैरहनी नगरपालिकाले एकल महिलाहरूलाई लक्षित गर्दै छोरी पशुधन कार्यक्रम सञ्चालनमा ल्याएको छ।
छोरी पशुधन कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरभित्रका एकल महिलाहरूलाई गाई खरिदको लागि अनुदान दिन लागेको हो । एकल महिलाहरुलाई लक्षित गर्दै नगरपालिकाले गाई खरिद गर्न ८०५ अनुदान दिएको खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले जानकारी दिए ।
एकल महिलाहरूलाई आर्थिक रुपमा टेवा पुगोस् भन्ने लक्ष्यसहित नगरभित्रका ३० जना एकल महिलाहरुलाई यस आर्थिक वर्षमा गाई खरिदको लागि अनुदान दिन लागेको नगर प्रमुख खनियाले बताए ।
उक्त कार्यक्रममा समाबेश हुन निवेदन दिएका नगरभित्रका १ सय ४५ जनामध्य विभिन्न मापदण्डबाट छनौट भएका ३० जनालाई नगरपालिकाबाट ६० हजार रुपैया अनुदान दिने नगर प्रमुख खनियाले बताए । छनौट गर्दा लक्षित महिलाहरू संयुक्त परिवारमा बसोबास गरेको वा नगरेको , जग्गा जमिनको अवस्था, अन्य आयआर्जनको स्रोतहरू रहे नरहेको , लक्षित महिलामा बालबालिकाहरू आश्रित रहे नरहेको लगायतको विषयलाई मध्यनगर गर्दै यसवर्ष ३० जना एकल महिलाहरुलाई समेटिएको उनले बताए ।
गाई खरिदको लागि नगरपालिकाको ८० प्रतिशत दिनेछ भने र २० प्रतिशत रकम लक्षित वर्ग स्वयमले हाल्नुपर्ने छ । गाईको अधिकतम मूल्य ७५ हजार निर्धारण गरिएकोले नगरपालिकाले ६० हजार र लक्षित व्यक्ति स्वयमले १५ हजार रुपैयाँ लागत सहभागीता दिनुपर्नेछ ।उक्त कार्यक्रमको लागि यस आर्थिक वर्षमा १८ लाख रुपैयाँ विनियोजन गरिएको नगर प्रमुख खनियाले बताए ।
अनुदान कार्यक्रमको लागि आज लक्षित महिलाहरु र नगरपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आज आयोजित अभिमुखिकरण तथा सम्झौता कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाले अनुदानमा खरिद गरेको गाईबाट बिक्रीवितरण गर्न नहुने र त्यसलाई क्रमिक रुपमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।
एउटा गाईबाट क्रमैसंगै प्रत्येक वर्ष पशुचौपायको संख्या वृद्धि गर्दै त्यसैबाट राम्रो आयअर्जन भए बल्ल नगरपालिकाको लक्ष्य पूरा हुने उनले बताए ।
गाई खरिद गरे पश्चात् त्यसको अनुगमन गरेर मात्रै भुक्तानी दिइने भएकोले कसैले पनि हेलचेक्राई नगर्न उनले सचेत गराए । खैरहनी नगरपालिकाको यो अभियान देशमै नमुनायोग्य रहेकोले यसमा सबै जिम्मेवार हुनुपर्ने बताए । उक्त कार्यक्रमबाट आउने प्रतिफल सबैलाई देखाउने र सुनाउन लायक बनाउन सबैलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख कविता उप्रेतीले आयआर्जन गर्दै आत्मनिर्भर बन्ने उद्देशसहित यस कार्यक्रममा सहभागी सबैलाई उदारणिय काम गर्न आग्रह गरिन्। नगरपालिकाबाट अनुदान पाएको भन्दै हेलचेक्राई नगर्न सचेत गराउदै उप प्रमुख उप्रेतीले त्यही अनुदानको एउटा गाईको माध्यमबाट केही वर्षमा गोठ भर्ने लक्ष्य सहित मेहेनत गर्नुपर्नेमा जोड दिइन् ।
गाई खरिदको लागि नगरपालिकाले मापदण्ड समेत बनाएको छ । गाई जर्सी क्रस जातको हुनुपर्ने ,गाई तेस्रो बेतभन्दा बढिको हुन नहुने , दैनिक १० लिटर दुध हुनुपर्ने , गाई स्वस्थ अवस्थाको हुनुपर्ने र विमा समेत गर्नुपर्ने प्रावधान राखिएको खैरहनी नगरपालिकाको पशु विकास शाखा प्रमुख डा.सुरक्षा कट्टेलले जानकारी दिइन् । गाई खरिदको लागि आज सम्झौता भएको र १५ दिनभित्र गाई खरिद गरिसक्नुपर्ने उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस्