उपप्रधानमन्त्री सिंह र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबिच भेट


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गरेका छन् ।

सिंहदबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितको बारेमा छलफल भएको मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिएका हुन् ।

उनले भारत र नेपालको बिचमा शहरी विकासको सम्बन्धमा अनुभव र सहयोग आदानप्रदानको विषयमा छलफल भएको जानकारी दिए। भेटमा भारतले पछिल्लो समय शहरी विकासको क्षेत्रमा गरेको काम र त्यसबाट नेपालले सिक्नसक्ने कुराका बारेमा छलफल भएको बताए ।

शहरी यातायात व्यवस्थापन, फोहोरमैलाको व्यवस्थापनको अनुभव आदानप्रदान लगायतका बारेमा छलफल भएको बताए ।

“भारतका विद्युतमन्त्रीज्यु शहरी विकासमन्त्री पनि हुनुहुन्छ । उहाँले खास गरेर भारतले शहरी विकासको क्षेत्रमा पछिल्लो समयमा हासिल गरेको प्रगति र शहरी यातायात व्यवस्थापन, फोहोरमैला व्यवस्थापनको अनुभवको आदानप्रदान भएको छ । भारतीय माननीय मन्त्रीज्यूले व्यक्त गर्नुभएका धारणालाई शहरी विकासमन्त्रीज्यूले पनि सकारात्मक रूपमा लिनुभयो,” उनले भने ।

नेपाल र भारतबिच शहरी विकासका अनुभवहरु आदानप्रदान गर्न र सहयताको लागि एमओयु तयार भएको उल्लेख गर्दै सचिव सिग्देलले उचित समयमा हस्ताक्षर गरिने बताए ।